खाना
खाना जीवन निर्वाहका लागि चाहिन्छ। खानाले नै हाम्रो शरीर निर्माण, बृद्धि र मर्मत हुन्छ । हामी जस्तो खाना खान्छौ त्यस्तै शरीर र स्वास्थ्य बन्छ। खानाले हाम्रो शरीर र विचारलाई प्रभाव पार्छ । त्यसैले सधैं शरीरलाई सजिलो गराउने खाना खानु पर्छ। हाम्रो शरीर कार्वन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन, सल्फर, फोस्फोरस जस्ता रासायनिक तत्व मिलेर बनेको हुन्छ। हामीले खानुपर्ने खाना पनि यिनै रासायनिक तत्वको अनुपात हो ।
शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, खनिज, भिटामिन, रेशा र पानी चाहिन्छ । यी सात चीज हाम्रो शरीर निवार्हका लागि चाहिने घटक हुन् । कार्बोहाइड्रेटले शरीरलाई बलियो बनाउने र शक्ति दिने काम गर्छ। यो एक दलीय अन्न, नफलेको चामल मकै, गहुँ, कोदो, फापर आदिमा पाइन्छ । प्रोटिन शरीरका लागि अति आवश्यक पोषिलो आहार हो । मुंगफली बदाम, चना, मुंग, दाल, गेडागडी जस्ता दुई दलीय अन्न र भटमासमा प्रोटिन प्रशस्त पाइन्छ ।
शरीरमा फोहोर जम्न नदिने पौष्टिक आहारमा फलफूल, हरियो सागसव्जी, नफलेको चामल, आँटा, फापर, कोदो आदि पर्छन् । यी खानाको दैनिक प्रयोगले शरीर स्वस्थ हुन्छ ।
कृत्रिम तेल, घिउ आदिमा बढी कोलेस्टेरोल हुन्छ। त्यसले शरीरलाई हानि गर्छ । हरियो सागसब्जिमा शरीरलाई चाहिने चिल्लो र भिटामिन्स प्रशस्त मात्रामा हुन्छ । शरीरलाई अति आवश्यक घटक रेशा फाइबर हो जसले खाना पच्न सजिलो गराउँछ र मल निष्काशन गर्न मद्धत गर्छ । नफलेको चामल, चोकर भएको आँटा, हरिया सागसब्जी अनि काँचो सलादमा हुन्छ । स्वस्थ रहन हाम्रो दैनिक खानामा अन्न सँगै हरिया सागसब्जी र सलाद खानुपर्छ ।
जिब्रोका लागि खाने कि स्वास्थ्यका लागि ?
अचेल मानिस जिब्रोको स्वादका लागि खाने गर्छन। बालबालिका पनि रंगीन विज्ञापनमा अलमलिएर जंक, स्पाइसी खाना, चाउचाउ आदिमा भुलेका छन् । त्यसैले आजकल अधिकांश बालबालिकामा कब्जियतको समस्या छ । गाउँघरमा पनि मकै बेचेर चाउचाउ खाने चलन चलेको छ। फोहोर जम्न नदिने रेशा र शरीरलाई चाहिने पौष्टिक आहार यी मकै भटमास, गहुँ, कोदो, फापर, फलफूल, हरियो सागसव्जी, नफलेको चामल, आँटा, आदिमा प्रशस्त हुन् जसले कब्जियत खुलाउँछ । त्यसैले बालबालिकालाई सागसब्जी र फलफूल खानामा जोड दिनु पर्छ । त्यसमा पनि फलफूलहरू सबैभन्दा राम्रो हो जसलाई शरीरले सजिलै पचाउन सक्छ । स्वस्थ भएपछि बालबालिकामा जाँगर बढ्छ ।
के खाने ?
शरीरका लागि खाने भएकाले शरीरलाई नै मापदण्ड बनाएर खानु पर्छ। जे खाँदा शरीर हलुका र सजिलो हुन्छ त्यही खानुपर्छ। जे खाँदा शरीरमा भारीपन आउँछ, थकान र आलस्य बढाउँछ त्यस्तो खाना खानु हुँदैन । हामीले जति प्राकृतिक र हलुका खाना खान्छौ त्यति स्वास्थ्य राम्रो हुन्छ ।
आँटा– गहुँको पिठो (आँटा)मा शरीरका लागि चाहिने रेशा छोक्रा, बोक्रा प्रशस्त हुन्छ जसले आन्द्रा सफा गर्न मद्धत गर्छ । खैरो चीज– सेतो चामलको सट्टा खैरो चामल, खैरो चिनी, मकै, गहुँ आदि खाने ।
सागसब्जी– हरियो सागबव्जीमा आन्द्रा सफा गर्न चाहिने रेशा प्रशस्त मात्रामा हुन्छ । यसले आँखालाई तेजिलो बनाउँछ । त्यसैले खानामा हरियो सागसव्जीको प्रयोग बढाउने । फलफूल– फलफूल सबैभन्दा राम्रो र शरीरले सजिलै पचाउन सक्ने प्राकृतिक खाना हो । फलफूल र सागसब्जीको प्रयोगले शरीर हलुका हुन्छ । स्कुल र अभिभावकहरूले बालबालिकालाई यी चिज खान प्रेरणा दिनु पर्छ ।
अचेल जंक फुड र कृत्रिम जुस धेरै प्रयोग भएको पाइन्छ । यसको सट्टामा ताजा फलफूल, मकै भटमास खान पे्ररित गर्ने । अर्को कुरा, पानी शरीरका लागि आवश्यक घटक हो। पानीले शरीर सफा गरी शरीर शुद्ध राख्छ। त्यसैले नियमित पानी पिउने ।
अचेल मानिस जिब्रोको स्वादका लागि खाने गर्छन। बालबालिका पनि रंगीन विज्ञापनमा अलमलिएर जंकफुड, स्पाइसी खाना, चाउचाउ आदिमा भुलेका छन्। त्यसैले आजकलका अधिकांश बालबालिकामा कब्जियतको समस्या छ।
के नखाने ?
कब्जियत गराउने खालका खानेकुरा नखाने। बजारमा पाइने अधिकांश तयारी खाजा जस्तै केक, मम, बिस्कुट, पाउरोटी, चाउचाउ, सेल, दुनोट, मिठाई र जंक खाना मैदाबाट बनेका हुन्छन् । मैदामा शरीरको पाचन क्रियालाई चाहिने छोक्राबोक्रा हुँदैन । त्यस्ता खानाले कब्जियत गराउँछ । फेरि त्यसमा प्रयोग हुने रसायन (प्रिजरभेटिभ) हानिकारक हुन्छ ।
सेतो चामल, मैदाबाट बनेका परिकारहरू नखाने । जंक फुड र प्याकेट गरेका खानेकुरा नखाने । कृत्रिम जुस नपिउने । चिल्लोमा तारे–भुटेका खाना नखाने । बढी चिल्लो, पिरो, अमिलो, घिउ, नुन नखाने । बाहिर राखिएका खानेकुरा जस्तै पानीपुरी र चटपट नखाने ।
त्यस्तै चिया, कफी कोल्ड ड्रिंक्स नखाने । एक चोटि पाकेको खाना फेरी तताएर नखाने । चुरोट, खैनी, रक्सी जस्ता नशाजन्य पदार्थ सेवन नगर्ने ।
कसरी खाने ?
भाइबहिनी हो ! दाँत पेटमा होइन मुखमा हुन्छ । मुख पाचन प्रणलीको पहिलो अंग हो । हामीले खाएको खाना मुखबाट सुरु भएर पाचन नली हुँदै पेटसम्म पुग्छ र पेटमा चाहिने रसहरू शोषण भएर बाँकी कस आन्द्रा हुँदै मलद्धारबाट बाहिर निस्कन्छ । त्यसैले खाना चपाइचपाई ¥यालमा मुछेर मात्र निल्नु पर्छ । खाना हतारहतार खानु हुँदैन । खाना खाँदा सधैँ बसेर सजिलोसँग खानु पर्छ ।
शरीरमा लाग्ने अधिकांश रोग हामीले खाने खाना नमिलेर हुन्छ । खानासँगै कहिल्यै पनि पानी नपिउने । खाँदा जहिले पनि खानामै ध्यान दिनुपर्छ । टिभी हेर्दै, गीत सुन्दै र कुरा गर्दै खानु हुँदैन । शान्त भएर खानु पर्छ । खाना सही समय र सही मात्रा मिलाएर नखाए रोगी भइन्छ ।
कहिले र कतिपटक खाने ?
भोक लाग्नु भनेको शरीरलाई खाना आवश्यक पर्नु हो। त्यसैले खाना भोक लागेपछि खानु पर्छ। तर अचेल मानिस खानाको पछि परेर शरीरको भोकको भन्दा मनको भोकमा लागरे समय ख्याल नगरी जति बेला मन लाग्यो त्यतिबेला, जे मन लाग्यो त्यही खाने गर्छन्।
साधारणतया खाना दिनको तीन पटक खानुपर्छ। विहान १० बजे खाना, खाजा दिउँसो २ देखि ३ बजे, र बेलुकीको खाना साँझ ७ देखि ८ बजे भित्र, सुत्नुभन्दा २ घण्टा अगाडि खानु पर्छ । खानाको समय नमिले पाचन प्रक्रियामा गडबडी हुन्छ । हामीले भारी खाना खाएको कम्तीमा चार देखि पाँच घण्टा र फलफूल खाएको दुई देखि तीन घण्टा फरकमा अर्को खाना लिनुपर्छ । खाना खाजासँग पानी पिउनु हुँदैन । खाइसकेपछि र खानु अगाडि १– १ घन्टा फरकमा पानी पिउनु पर्छ ।
शाकाहारी बनौं
माछा, मासु, अन्डा र दुग्ध पदार्थलाई बढी प्रोटिन भएका, शरीर वृद्धि गर्न चाहिने आहारका रूपमा प्रयोग गर्ने चलन छ । तर यी खानामा शरीरका लागि चाहिने रेशा धेरै कम हुन्छ । पच्न गाह्रो हुन्छ र खाएपछि शरीर भारी हुन्छ । आलश्य बढाउँछ । प्रोटिन माछा, मासुमा मात्र होइन दाल गेडागुडीमा पनि प्रशस्त पाइन्छ । त्यसैले मासुभन्दा गेडागुडी प्रयोग गर्नु राम्रो हुन्छ । समस्या भएका, जीर्ण रोग लागेका, युरिक एसिड भएका, अधिक मोटोपन, उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, दम भएकाले त माछामासु खानै हुँदैन ।
हामी जति पोसिलो खाना, प्रोटिन भएका खानेकुरा खान्छौ त्यति नै शरीरलाई पचाउन शक्ति जरुरी पर्छ र शक्ति सबै पाचन गर्नमा खर्च हुन्छ । फलस्वरूप बढी थाक्ने र गल्ने हुन्छ । त्यसैले पौष्टिक आहारभन्दा निस्कासक आहार उपयुक्त हुन्छ । प्रकृतिका हिसाबले पनि, अरूलाई मारकाट नगर्ने हिसाबले र स्वस्थ रहने दृष्टिकोणले पनि माछामासु नखानु सबैका लागि कल्याणकारी हुन्छ । शाकाहारी बनौं । स्वस्थ बनौं ।
साभारः नागरिक ।