शेयर बजारमा उछाल
काठमाडौं । पूँजी बजारसम्बन्धी महत्वपुर्ण निर्णयहरुले शेयर बजारमा उछाल आएको छ । यो साता सुस्त गतिमा सुधारको संकेत गरेको बजारले केही घटनाक्रमका कारण मंगलबार फराकिलो अन्तरको सुधार देखाएको छ ।
नेपाल धितोपत्र बोर्डले सोमबार मात्रै स्वदेशी तथा गैरआवासीय नेपाली लगायत वैदेशिक पूँजी समेत परिचालन गर्न ‘विशिष्टिकृत लगानी कोष नियमावली २०७५’ लागू गरेको छ ।
अर्कातिर बैंकहरु व्याजको स्प्रेडदर ४ प्रतिशत कायम गर्न तयार भएका छन् । त्यसै गरी लगानीकर्ताहरु आन्दोलनको घोषणा गर्दै लगानीकर्ताको आत्मविश्वास बढाउने क्रममा छन् । यस्ता घटनाक्रमले लगानीकर्ताको आत्मविश्वास बलियो बन्दा मंगलबारको शेयर बजारमा उछाल देखिएको हो ।
यस अघि ११०० हाराहारीमा रहेको नेप्से सुचक मंगलबार २०.३३ अंकले बढेर ११६३.२६ विन्दुमा पुगेको छ भने कारोबार रकम ५२ करोड ७७ लाख रुपैयाँ नाघेको छ । यस अघि २० करोडकोवरिपरि कारोबार भैइरहेको थियो ।
धितोपत्र बोर्डले प्राइभेट इक्यूटी, भेञ्चर क्यापिटल र हेज फण्ड लगायतका नयाँ उपकरणलाई पूँजी बजारमा प्रवेश गराउन नियमावली कार्यान्वयनमा ल्याए पछि लगानीकर्ताले लामो समयदेखि राख्दै आएका माग अनुरुप काम भएकाले बजारमा असर देखाएको हो ।
यस्तै व्यवसायी र बैकर्सबीच व्याजदरको समस्या समाधान गर्ने सम्बन्धमा सोमबार दिनभरी चलेको छलफलको असर पनि मंगलबारको शेयर बजारमा देखिएको हो । व्यवसायी र बैकर्सबीच भएको झण्डै तीन घण्टा लामो छलफलमा ब्याजदर र सेवाशुल्कमा एकरुपता ल्याउने र स्प्रेडदर ४ प्रतिशत भन्दा माथि नराख्ने, केवाइसी सहजीकरण गर्ने, ऋणका लागि पेश गर्नुपर्ने कागजातमा एकरुपता ल्याउने लगायत विषयमा अनौपचारिक सहमति जुटेको छ ।