गाउँस्तरबाटै खेलकुदको विकास आवश्यकः प्रचण्ड
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साफ महिला फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् ।
विराटनगरस्थित शहिद रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलको माध्यमबाट दक्षिण एसियामा साफले सद्भावना र एकताको नयाँ सन्देश दिएको बताए ।
संवेदनशिल समाज निर्माणमा खेलकुदको पनि भूमिका रहने भएकाले खेलकुदको विकासका लागि सरकार लागिपर्ने अध्यक्ष प्रचण्डले बताए । परिणाममुखि खेलकुदका लागि विद्यालय र गाउँस्तरबाट नै खेलकुदको विकास गरिनुपर्नेमा उनको जोड छ ।
प्रचण्डले नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले विराटनगरको मात्र नभई देशकै गौरव बढेको उल्लेख गरे । उनले राष्ट्रिय एकता बलियो बनाउन र स्वास्थ्यको लागि पनि खेलकूदको ठूलो भूमिका रहेको बताए । अध्यक्ष प्रचण्डले नेपाली महिला फुटबल खेलाडीले आफूलाई शक्तिशाली बनाउन खेलमा अझै सुधार गर्दै जानुपर्ने सुझाव दिए । उनले सांस्कृतिक क्षेत्र र खेलकूदको क्षेत्र अफ्नो अभिरूचीको क्षेत्र भएको बताए ।