काठमाडौं । आईतवार साँझ एक्कासि आएको भिषण आँधी हुरीमा परेर बारा र पर्सामा ३२ जनाको मृत्यु भएको छ ।
भिषण आँधी हुरीमा परेर बारामा २७ र पर्सामा ५ गरी ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मध्यरातसम्म बारामा २७ जनाको र पर्सामा पाँच जनाको गरी कुल ३२ जनाको मृत्यु भएको पुष्टि स्थानीय प्रशासनले गरेका छन् ।
घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ । तर ज्यान गुमाउने र घाइते हुनेहरूको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
यसभन्दा पहिले दुई नम्बर प्रदेशका प्रहरी प्रमुख हरिबहादुर पालले मध्यरातसम्म बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको जानकारी दिएका थिए । पालका अनुसार बारा र पर्सामा राति साढे ८ बजेबाट करिब आधा घन्टा तीब्र हावाहुरी चलेको थियो। बाराको फ्रेटा गाउँपालिका, पर्सौनी गाउँपालिका र सुवर्ण गाउँपालिकामा २५ जनाको मृत्यु भएको र वीरगञ्ज-१२ गण्डकमा बिजुलीको पोल ढल्दा एक जनाको मृत्यु भएको बताइएको थियो।
यसअघि राति १०ः३७ मा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म २५ जनाको ज्यान गएको र झन्डै चार सय जना घाइते भएको जानकारी प्राप्त भएको भन्दै शोक व्यक्त गरेका थिए ।
प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन् ।
भयानक दुर्घटना
बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने, “गम्भीर प्रकृतिका घाइतेको सङ्ख्या धेरै पाइएकाले क्षतिको विवरण बढ्न सक्ने देखिन्छ।“
दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले घाइतेहरूको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिएका छन् ।
हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको बताइएको छ ।
बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ ।
स्थानीयका अनुसार “झन्डै आधा घण्टा चलेको हुरीलगत्तै उद्धारका लागि थुप्रै दमकल र प्रहरीका गाडिको आवाज सुनिएको थियो । स्थानीय अस्पतालहरूले घाइतेको सङ्ख्या निकै बढेपछि भुइँमै राखेर उपचार गरिएको बताएका छन् ।“
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार अस्पतालमा बढेको चापको कारण साँझदेखि नै रक्तदानको आह्वान गरिएको छ । समाचारहरूमा जनाइए अनुसार अस्पतालहरूमा सुरक्षाकर्मी एवं सर्वसाधारणहरूले आकस्मिक रक्तदान गरिरहेका छन् ।
“अस्पतालहरूको क्षमताभन्दा निकै धेरै घाइतेहरू भएकाले त्यसो गर्नुपरेको हो । सम्पूर्ण घाइतेको निस्शुल्क उपचारको व्यवस्था गरिएको छ। “
प्रभावित जिल्लाहरूमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित भएको गृह मन्त्रालयले जनाएको छ ।
ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएपछि सेना, प्रहरी परिचालन गरिएको हो ।
यो घटनामा ४०० बढी घाइते भएका छन्। घाइतेहरूको बारा र पर्साका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले बताएको छ।
घाइतेमध्ये नारायणी अस्पतालमा १०० जना, नेशनल मेडिकल कलेज वीरगञ्जमा १०० जना, वीरगञ्ज हेल्थ केयरमा १०० जना, गण्डक अस्पतालमा २७ जना र एड्भान्स हस्पिटलमा २० जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
बारा प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन। क्षति धेरै भएकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्छ।
घाइतेहरूको उद्धार कार्य जारी रहेको र उनीहरुको कलैया, वीरगञ्ज अस्पतालका साथै नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। ’अधिकांशको घर र छानाले च्यापिएर मृत्यु भएको छ,’ डिएसपी राठौरले भने।
घाइतेहरूको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। संघीय प्रहरी इकाई कार्यालय धनुषाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइराला, बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराई र पर्साका उपरीक्षक रेवती ढकालसहित सशस्त्र प्रहरीसमेतको टोली घटनास्थलमा खटिएको छ।
रुख र बिजुलीका पोल ढलेर बाटो अवरुद्ध हुँदा घाइतेको उद्धारमा कठिनाइ
आइतबार साँझ हावाहुरीसहित परेको पानीको वितण्डनामा परेकाको लागि उद्धारमा कठिनाइ भएको छ ।
हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए ।
उद्दारमा जुट्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीले बारासहितका जिल्लामा ठूलो क्षति भएपछि सरकार मातहतका निकायलाई उद्दारमा जुट्न निर्देशन दिएका छन् ।
सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीसँग उद्दारमा संलग्न हुन पार्टीपंत्तिलाई समेत आह्वान गरेका छन् ।
उद्दारका लागि हेलिकोप्टर तयारी अवस्थामा
प्रधानमन्त्री ओलीले सोमबार बिहानबाट उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको आफ्नो ट्वीटरबाट जानकारी गराएका छन् ।
’मौसमले साथ दिए तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा नाइट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ,’ उनले भनेका छन्, ’सुरक्षाकर्मीसँगै उद्दारमा संलग्न रहन म सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु ।’
सेना परिचालित
प्रधानमन्त्री ओलीको निजी खाताबाट लेखिएको एउटा ट्वीटमा उद्धारका लागि नाइट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको उल्लेख छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार नेपाली सेना पनि उद्धारका लागि परिचालित भएको छ ।
सुरक्षाकर्मीहरू अनुकूल मौसमको पर्खाइमा रहेका रिजालले जनाएका छन् ।
आइतवार बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो ।
राति पनि महाशाखाले त्यस्तै पूर्वानुमान गरेको छ ।