व्यवस्थापकीय लापरबाहीले ८ घण्टासम्म यात्रु विमानभित्रै

काठमाडौं । २ सय ७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नुपर्ने नेपाल वायुसेवा निगमको विमान व्यवस्थापकीय लापरबाहीका कारण ११ घण्टापछि बुधबार बिहानमात्रै उड्यो । जहाज बेलैमा नउडाएको आक्रोशमा १ सय ५० बढी यात्रु ८ घण्टासम्म पार्किङवेमा राखिएको विमानभित्रै बस्न बाध्य भए । जहाज नउड्ने भएपछि यात्रुलाई निकाल्न निगमका कर्मचारीहरुलाई हम्मे हम्मे परेको थियो ।

विमानस्थल प्रहरीका अनुसार, यात्रुहरूले निगमविरुद्ध नाराबाजी गरेका थिए । केहिले जहाजमा राखेको मिल (खाना) आफैं निकालेर खाए । ’केहीले बियरका बोतल खोलेर बसेको पनि देखियो,’ विमानस्थलका एक वरिष्ठ प्रहरीले भने ।

मंगलबार राति साढे ८ बजेदेखि बोर्डिङ गराइएका यात्रुलाई बुधबार बिहान ५ बजे विमानस्थलमा रहेको प्रहरीको सहायतामा ’अफ–बोर्ड’ गराइएको थियो । ११ घण्टापछि बिहान पौने नौ बजे मात्रै उक्त विमान दुबईका लागि काठमाडौंबाट उडेको थियो । उक्त घटना देखेका अर्का एक प्रहरीले ’ती यात्रुलाई बल प्रयोग नगरी सम्झाईबुझाई गरेर’ निकालेको बताए । उक्त उडानमा अधिकांश नेपाली कामदार थिए ।
विमान दुबईका लागि उड्न नसक्ने भएपछि निगमका एयरपोर्ट म्यानेजर कोमल राणा लगायतका कर्मचारी जहाजभित्रै पसेर यात्रुलाई सम्झाउन पुगेका थिए । तर, सबै यात्रुहरुले उनको आग्रह स्वीकारेनन् । ’यात्रुहरुले जसरी पनि विमान उडाउनु पर्ने नभएमा क्षतिपूर्ति दिनुपर्ने भन्दै हुटिङ र होहल्ला गरे,’ उक्त घटनाका एक अर्का प्रत्यक्षदर्शीले भने ।

निगमका कर्मचारीको आग्रह इन्कारीरहेका यात्रुहरूलाई विमानस्थल टर्मिनलका कर्मचारी र प्रहरीले १० बजेपछि विमानस्थल बन्द गर्नुपर्ने कारणबारे सम्झाइबुझाई गरेपछि बिहान ५ बजे मात्रै ओर्लिएका थिए । ’विमानभित्र हामी (प्रहरी) लाई विमानस्थलको अनुमतिबिना छिर्ने अधिकार हुँदैन । बेलैमा खबर प्राप्त भइदिए राति नै सबै यात्रु निकाल्न सक्थ्यौं,’ ती वरिष्ठ प्रहरीले भने, ’ तर १ सय ७ जना यात्रु विमान नउड्ने भएपछि १० बजे राति नै होटल जान मानेछन् ।’ यदि उडान रद्द हुने अवस्था आइपरे एयरलाइन्सले आफ्नै खर्चमा यात्रुलाई होटलमा राख्नुपर्ने नियम छ ।

प्रहरीका अनुसार, केही यात्रुहरु आइतबार पनि निगमले उडान रद्द गरेकाले आक्रोशित देखिन्थे । ’केही नेपाली कामदारले अस्ती (आइतबार) पनि नउडाउने आज पनि नउडाउने हाम्रो काममा जाने समय खेर गइरहेको छ, हामीलाई क्षतिपूर्ति चाहिन्छ भन्दै थिए,’ ती प्रहरीले कान्तिपुरसँग भने ।

नेपाल वायुसेवा निगमको उच्च स्रोतका अनुसार, उक्त वाइडबडी विमानको उडान समय सवा ९ बजे थियो। तर, १० बजेसम्म पनि उड्न नसकेपछि एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले त्यसपछिको सयमका उड्न नमिल्ने भन्दै अनुमति दिएनन् । एक वरिष्ठ एटीसीका अनुसार, चैत्र १८ गते विमानस्थल सुधारको निर्माण कार्य सुरु भइसकेकाले राति १० देखि विमान ८ बजेसम्म विमान उडाउनरअवतरणमा रोक लगाइएको छ । यस्का लागि तीन महिनाअघि सूचना जारी गरिएको थियो भने एयरलाइन्ससँग उडान समय मिलानका लागि विमानस्थल व्यवस्थापन र प्राधिकरणले दर्जनौंपटक बैठक पनि गरेका थिए ।

’नोटाम (नोटीसटू एयरमिन) नै जारी भएको समयमा उडान अनुमति दिनु अन्तर्रा्ष्ट्रिय कानुन उल्लंघन गर्नु हो, त्यसैले १० बजेपछि १ मिनेट पनि हामी समय विस्तार गर्न सक्दैनौं,’ प्राधिकरणका एक अधिकारीले भने । नोटामको समयमा यदि कुनै दुर्घटना भएमा विमानको नियम पनि लागू हुँदैन । ’नोटाम जारी भएपछि संसारभरका सरोकार राख्ने निकायमा पुग्छ, यदि हामी आफैंले नोटाम उल्लंघन र्गयौं भने विश्व समुदायले हामीलाई हेर्ने दृष्टिकोण के हुन्छ, त्यसमाथि हामीलाई कालोसूचीमा राखेको अवस्था छ,’ ती उच्च अधिकारीले भने ।

विमानस्थलले १० बजेसम्म भने पनि आधा घण्टाको सयम अन्तर राखेर साढे ९ बजे नै विमानस्थल बन्द गर्ने लिखित पत्र सबै एयरलाइन्सलाई पठाएको छ । ’साढे ९ देखि १० बजेसम्मको आधा घण्टा कुनै आपतकालीन उडान वा मौसमको खराबीका कारण हुन सक्ने डिलेका लागि समय मार्जिन राखेका हौं। विमानस्थल व्यवस्थापन स्रोतले निगमको दुबई उडान ढिलाई हुनुमा उनीहरूकै विमानस्थलमा रहेका कर्मचारीको लापरवाही भनेको छ ।

सोमबारदेखि विमानस्थल राति १० देखि बिहान ८ बजेसम्म बन्द हुन्छ भनेर तीन महिनाअघि सूचना जारी भएको छ । ’महिनौं अघिदेखि सूचना जारी भएको निगमका सञ्चालकलाई त्यति पनि हेक्का छैन,’ प्राधिकरणका एक वरिष्ठ अधिकारीले भने, ’निगम व्यवस्थापन घरेलु भूमिमा जे गर्दा पनि छुट पाइन्छ भन्ने मानसिकता देखिन्छ । समयरनियम पालनामा ध्यानै र्पुयाउँदैन । अप्ठ्यारो पर्दा गृहसचिव, प्रधानमन्त्री कार्यालयबाट फोन गरेर दबाब दिन्छ ।’

यस घटनाबारे विमानस्थलले बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरणलाई दिएको विवरणअनुसार, बुधबार राति निगमका दुईटा वाइडबडी विमानमा यात्रु बोर्डिङ हुँदै थिए । एउटा वाइडबडी दोहाका लागि ८ बजेर ५५ मिनेटमा उड्ने तालिका थियो भने अर्को दुबईका लागि सवा ९ बजे ।

त्यसक्रममा दोहोका यात्रु दुबई जाने जहाजमा र दुबई जाने यात्रु दोहो जाने जहाजमा चढेका थिए । ’यात्रुहरु मिसमास भएपछि निगमका कर्मचारी यात्रु खोजाखोज गर्दै थिए,’ ती वरिष्ठ एटीसीले भने, ’यात्रु खोज्दै, एउटा जहाजबाट बोलाएर अर्कोमा हाल्दा समय गुज्रिहाल्यो ।’ यस्तै ढिलाईले दोहाको उडान ४० मिनेट ढिलो भएको थियो । राति १० बजेपछि विमानस्थल नै बन्द हुने भएकाले अन्तिम समयमा एकैपटक यात्रुको चाप परेकाले अलि अलमल भएको निगमका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा स्वीकारे । ’एकै पटक एउटै बोर्डिङ गेटबाट दुई ठाउँका लागि यात्रु निकाल्दा रातिको समयमा अलिअलि भद्रगोल भएको हुनसक्छ,’ ती अधिकारीले भने ।

मंगलबार दिनभर निगमकै ह्यांगरमा राखिएको वाइडबडी विमानलाई दुबई उडाउन ८ बजेर ३५ मिनेटमा पार्किङ्गबेमा ल्याइएको थियो । कार्गो, क्याटरीङ र यात्रु राख्दा ९ बजेर ३५ मिनेट भइसकेको थियो । निगमको मुख्यालयलाई टिपाइएको जानकारी अनुसार, ९ बजेर ३७ मिनेटमा इन्धन भर्ने काम सकिएको थियो। ९ बजेर ४७ मिनेटमा ढोका बन्द गरिएको थियो । यसै सयममा निगमको फ्युल इन्डिकेटरमा समस्या पनि देखियो । यात्रु बोर्डिङ भइरहेका बेला इन्जिनियरहरु जहाज मर्मत गर्न आइपुगेका देखिन्थ्ये। ती प्राविधिकहरुले पौने १० बजे जहाज उड्नयोग्य भनी रिलिज गराएको निगमका एक अधिकारीले बताए ।

विमानस्थलमा रहेको टर्मिनल डियुटी अफिस (टिडियो) का अनुसार, निगमको विमानमा यात्रु राख्दै गरेका बेला नौ बजे काठमाडौंमा अवतरण गरेको क्याथे ड्रयागन एयरलाइन्सको वाइडबडी विमान ४८ मिनेटभित्रै २५३ यात्रु ओरालेर फर्किएको थियो । उक्त विमान काठमाडौंमा अवतरण हुनै लाग्दा धावनमार्गमा मरेको चरा देखा परेपछि एटीसीले ओभरसुट गराएका थिए । ’विदेशी एयरलाइन्सले मिस्ड एप्रोच (ओभर सुट) गरी आधा घण्टाको फेरो लगाई दोस्रो प्रयासमा अवतरण गरी ३ सय ८ यात्रु लिएर फर्किन सक्छ’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ’तर हाम्रो ध्वजाबहाक समयमा बिरलै उड्छ । केही चुनौती आइपरे दोष जति अन्य निकायतिर देखाउँछ ।’

निगमको विमानभन्दा ढिलो आइपुगेको क्याथे ड्रयागनको जहाजको ग्राउन्ड ह्याण्डलिङ्ग पनि निगमले नै गर्छ। मंगलबार पनि क्याथेको जहाजका यात्रु ओसार्ने, कार्गो राख्ने, जहाज सफाई, पुसब्याक गर्ने लगायतका सबै कार्य निगमकै ग्राउन्डको टिमले गरेको थियो । ’विदेशी जहाज तोकिएको समयभन्दा चाँडो उड्छ तर निगम आफ्नै विमानको ग्राउन्ड ह्याण्डलिङ्ग राम्ररी गरेर समयमै उडान चुक्छ,’ प्राधिकरणका ती अधिकारीले भने ।

यसैबीच पर्यटन मन्त्रालयले यस घटनाको ५ दिनभित्र छानबिन गर्न सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार, समितिलाई निगमको विमान ढिला उड्नुका कारण, दोषी पत्ता लाउनुपर्ने लगायतका जिम्मेवारी दिइएको छ । यस समितिमा गृह मन्त्रालयका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षकसहित निगमका निर्देशक राजेश श्रेष्ठर प्राधिकरणका प्रबन्धक विक्रम गौतम सदस्य सचिव छन् ।

सम्बन्धित खवर

Back to top button