satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

यस्तो रह्यो २०७५ साल

सत्कार पोष्ट सत्कार पोष्ट
२०७५ चैत्र ३० मा प्रकाशित
446
यस्तो रह्यो २०७५ साल

काठमाडौं । २०७५ साल समग्रमा मिश्रित वर्ष रह्यो । राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक क्षेत्रमा केही राम्रा काम भए पनि ती विवादरहित भने हुन सकेनन् ।

खासगरी लामो समयपछि नेपालमा बनेको स्थायी सरकारबाट जनताले राखेका आशा र अपेक्षा केही हदसम्म पूरा हुनेतर्फ गए पनि यतिमै सन्तोष मान्न सक्ने अवस्था भने छैन । २०७५ मा भएका घटना, परिघटना, दुर्घटना, भ्रष्टाचार, विकासलगायतका विषयवस्तुलाई समेटेर समिक्षा गरिएको छ ।

सीके मूलधारमा, विप्लव प्रतिबन्ध

२०७५ साल फागुन २४ गते सरकारले स्वतन्त्र मधेस गठबन्धनका सीके संयोजक राउतसँग ११ बुँदे सहमति गर्यो । स्वतन्त्र मधेसको मागसहित देश नै टुक्र्याउने अभियानमा लागेका राउतसँग भएको सो सहमतिसँगै उनको समूह मूलधारमा आएको घोषणा गरियो । राउतसँगको सहमति भएको चार दिनपछि सरकारले फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगायो ।
यी दुवै निर्णयको प्रतिपक्षी र सत्तापक्षबाटै पनि चर्को आलोचना भयो ।

सरकार र राउत समूहबीच ११ बुँदे सहमतिपछि राउत राजनीतिक मूलधारमा आएको सरकारी पक्षले दाबी गरे पनि सहमतिपछि पनि उनका गतिविधि शंकास्पद रहेको भन्दै केही दिन आलोचना भइरह्यो । देश टुक्र्याउने अभियानमा रहेका राउतलाई सहमतिमार्फत सरकारले नै वैधानिकता दिएको तथा राजनीतिक माग बोकेका विप्लवलाई प्रतिबन्ध लगाएर सरकारले नै द्वन्द्व निम्त्याएको भन्दै चिया पसलदेखि संसदसम्मै आलोचना भयो ।

विप्लवलाई प्रतिबन्ध लगाएपछि सरकारले उसका सयौँ नेता कार्यकर्ता पक्राउ गर्यो । प्रधानमन्त्री केपी ओलीले हतियार बुझाएर वार्तामा नआए चैतभरमा विप्लवलाई समेत पक्रने अभिव्यक्ति दिए । तर प्रधानमन्त्रीले दिएको समयसीमा पार हुन लाग्दासमेत विप्लव भने पक्राउ परेका छैनन् ।

दुई कम्युनिस्ट पार्टीको एकता घोषणा
२०७५ को सुरुवातमै नेपालका दुई ठूला कम्युनिस्ट घटक नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भयो । जेठ ३ गते पार्टी एकता घोषणासँगै एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखियो । पुनर्गठित पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिस्ट पार्टी बन्यो । एसियामा चीन र भियतनामपछि ‘नेपाल कम्युनिस्ट पार्टी’ तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको छ ।

पुनर्गठित पार्टीको अध्यक्षमा महाधिवेशन नहुँदासम्म केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष रहने सहमतिअनुसार नेताहरु पार्टी एकता घोषणा गर्न सहमत भएका थिए । नेकपाको एकतासँगै सङ्घीय सरकार र ६ वटा प्रदेशका सरकार नेकपाको एकल बहुमतमा बन्यो । पुनर्ग्ठित पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ रहने बताइयो ।

विवादमा तानिएपछि मन्त्री तामाङको राजीनामा

२०७५ सालमा केन्द्र सरकारका एक मन्त्री विवादमा तानिए । जसका कारण उनले पद नै छाड्नुपर्यो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बङ्गलादेशमा एमबीबीएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफ्नो शरीर अरुलाई सुम्पनुपर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भयो । मन्त्री तामाङको सर्वत्र आलोचनापछि उनले साउन ८ गते पत्रकार सम्मेलन गरेर राजीनामा दिए ।

श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलन गरेका मन्त्री तामाङले आफूले महिला अधिकारका कुरा उठाएको तर त्यही कुराले आफूलाई लखेटेको राजीनामा दिने क्रममा बताएका थिए । तामाङको राजीनामापछि प्रधानमन्त्री केपी ओलीले कानुनमन्त्रीमा भानुभक्त ढकाललाई नियुुक्ति गरे ।

हेलिकप्टर दुर्घटना

२०७५ साल फागुन महिनामा नेपालले एक होनहार युवा नेता तथा मन्त्री गुमायो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए । तेह्रथुमको चुहानडाँडामा विमानस्थल क्षेत्र अवलोकन गर्न पुगेको यो टोली बीचमै पाथिभरा ओर्लिएर उड्ने क्रममा यो दुखद् घटना हुन पुग्यो । भ्रमण वर्ष मनाइरहेको नेपालमा विभागीय मन्त्री नै हवाई दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय जगतमा त्यसको गलत सन्देश प्रवाह भयो ।

उक्त दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरेन्द्रप्रसाद श्रेष्ठ, धु्रव भोछिभया, उपसचिव युवराज दाहाल, मन्त्रीका पीएसओ जमदार अर्जुन घिमिरे र हेलिकप्टर पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत
न्यायाधीश दीपकराज जोशी न्यायालयको इतिहासमा संवैधानिक परिषद्बाट सिफारिस भएर पनि प्रधानन्यायाधीश हुन पाएनन् । संसदीय सुनुवाइ समितिले १८ साउनमा उनको प्रधानन्यायाधीश हुन अस्वीकृत गर्यो । जोशीलाई प्रधानन्यायाधीश जस्तो गरिमामय पदको जिम्मेवारी दिन उपयुक्त हुने कुनै पनि आधार नपाएको भन्दै समितिले जोशीको नाम अस्वीकृत गरेको हो ।

समितिले न्यायालयको नेतृत्वका लागि ठोस कार्ययोजना प्रस्तुत गर्न नसकेको र शैक्षिक प्रमाणपत्र सन्देहात्मक रहनुका साथै जन्ममितिसमेत फरक फरक भेटिएको भन्दै सत्तारुढ दलको दुई तिहाइ बहुमत जोशीको विपक्षमा उभिएको थियो ।

सरकारको सम्बन्धमा उत्तरचढाव
देश सङ्घीयताको बाटोमा अघि बढ्दै गर्दा २०७५ वर्ष सङ्घ र केन्द्र सरकारबीच त्यति सौहार्दपूर्ण वातावरण बन्न सकेन । मुख्यमन्त्रीहरुले भेला नै बोलाएर केन्द्र सरकारले आफूहरुलाई समयमा ऐन र अधिकार नदिएको भन्दै आलोचना गरे । यो अन्तरद्वन्द्वको अग्रभागमा रहे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत राउतले सिंहदरबारदेखि बालुवाटारसम्म पुगेर पटक–पटक अधिकारको केन्द्रीकरणविरुद्ध मुख खोले । यतिसम्मकी राउतले २८ वैशाख ०७५ मा जनकपुरको बाह्रबिघा मैदानमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित कार्यक्रममा ‘राज्य र संविधानको विभेदकारी नीतिका कारण मधेस पछाडि परेको’ बताए ।

वाइडबडी प्रकरणः सत्तारुढदेखि प्रतिपक्षसम्म भूकम्प

नेपाल वायुसेवा निगमले किनेका दुईवटा वाइडबडी जहाज खरिद र त्यसमा भएको भ्रष्टाचार प्रकरण २०७५ मा निकै चर्चा पायो । सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे निष्कर्षसहितको प्रतिवेदन पुस १८ मा आएपछि यसको चर्चा र आलोचना भएको हो । वाइडबडी जहाज खरिदमा बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समेत दोषी ठहर गर्दै कारबाहीको सिफारिस गर्यो । तर यो घटनामा संलग्नलाई कारबाही भने अझै भएको छैन । यद्यपि अख्तियारले यसबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

कर्मचारी समायोजन औपचारिकता
सङ्घीयताको कार्यान्वयन गर्न आवाश्यक कर्मचारी खटाउन सरकारलाई निकै सकस भयो । अन्ततः विवादै विवादका बीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया औपचारिकरुपमा टुङ्गिएको घोषणा गर्यो । मन्त्रालयले चैत १४ गते पत्रकार सम्मेलन गरेर एक लाख ३१ हजार कर्मचारी समायोजन गरेको घोषणा गरेको हो । मन्त्रालयले १३ महिना लगाएर कर्मचारी समायोजन सकेको जनाए पनि तीनवटै सरकारमा ठूलो सङ्ख्यामा कर्मचारीहरू खालि छन् । सरकारको घोषणा अनुसार केन्द्र सरकारमा ४८ हजार ४०९ दरबन्दी रहे पनि ४० हजार ७६९ जना मात्रै समायोजन भएका छन् । केन्द्रमै ७ हजार ६४० जना कर्मचारी नियुक्त गर्न बाँकी छ ।

त्यस्तै प्रदेशमा पनि ७ हजार ६३८ जना कर्मचारी खाली छ । प्रदेशमा २२ हजार २९७ कर्मचारी दरबन्दी भए पनि समायोजनबाट जम्मा १४ हजार ६५९ कर्मचारी मात्रै प्रदेश गएका छन् ।
स्थानीय तहमा ५० हजार ७९० कर्मचारी समायोजन भए पनि स्थानीय तहमा झण्डै १७ हजार जना कर्मचारी सङ्ख्या खालि छ । स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दी स्वीकृत भएको थियो ।

मोदीको नेपाल भ्रमण
धार्मिक भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए । वैशाख २८ गते शुक्रबार बिहान एयर इन्डियाको विमानमार्फत उनी सीधै जनकपुर आएका थिए । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । त्यसपछि मोदीले जानकी मन्दिरमा पूजा गरेका थिए । उनलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए भने काठमाडौँ विमानस्थलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले । जानकी मन्दिरबाट दुवै देशका प्रधानमन्त्रीले जनकपुर अयोध्या बस सेवाको शुभारम्भ गर्नुका साथै रामायण सर्किटको उद्घाटन गरेका थिए । जनकपुरमा मोदीलाई अभिनन्दन गरिएको थियो । नागरिक अभिनन्दनपछि जनकपुरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध त्रेतायुगदेखिको भएको बताएका थिए ।

नाकाबन्दीपछि पहिलोपल्ट मोदी २०७५ वैशाखमा नेपाल आएका हुन् । मोदीले प्रदेश नम्बर २ का लागि १ सय करोडको सहायता घोषणा गरेका थिए । नेपाल भ्रमणका क्रममा मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँगको भेटवार्तापछि होटल द्वारिकाजमा प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच एक्लाएक्लै वार्ता भएको थियो ।

लुट्नसके लुट कान्छाको हङ्गमा

सामाजिक विसङ्गति, संस्कार र राजनीतिक जालझेलप्रति कटाक्ष गर्दै लोकगायक पशुपति शर्माले फागुन पहिलो साता ‘लुट्न सके लुट…’ गीत सार्वजनिक गरे । जुन गीतले वर्तमान शासकलाई प्रहार गरेको थियो । जुन तन्त्र आए पनि देश विकास नभएको नियतिप्रति रोष पोख्दै सार्वजनिक भएको उक्त गीतप्रति सरकारको असन्तुष्टि बढ्यो र औपचारिक अनौपचारिक दबबा बढेपछि गायक शर्माले युट्युबबाट हटाए । सरकारले औपचारिक रूपमा केही नभने पनि सत्तासीन नेकपा सम्बद्ध सङ्घसंस्थाले विज्ञप्ति नै निकालेरै गीत र पशुपतिलाई बहिष्कार गर्न आह्वान गरे । त्यस घटनापछि अभिव्यक्ति स्वतन्तत्रतामाथि अङ्कुश लगाएको भन्दै सरकारको आलोचना र शर्माको एकाएक चर्चा चुलियो ।

अख्तियारकै आयुक्त घुष प्रकरणमा मुछिए
भ्रष्टाचारीमाथि निगरानी गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्त नै घुस लिएको भिडियो सार्वजनिक भयो । आयुक्त राजनारायण पाठकले आफूले २ किस्ता गरेर ७८ लाख र भाइमार्फत १५ लाख गरी ९३ लाख रुपैयाँ घुस लिएको तथ्य सार्वजनिक भयो । यो घटनापछि पाठकले राजीनामा दिए । उनको राजीनामापछि अनुसन्धान भए पनि मुद्दा गुपचुपमै राखियो । पाठकमाथिको कारबाही के हुँदैछ भन्ने हालसम्म बाहिर आइसकेको छैन ।

लगानी सम्मेलन

चैत १५ र १६ मा नेपालमा दास्रो लगानी सम्मेलन सम्पन्न भयो । जसमा सरकार र निजी क्षेत्रले प्रस्तुत गरेका ७७ मध्ये १६ परियोजनाका लागि आवेदन परेको छ । सम्मेलनमा १५ वटा परियोजनामा समझदारीसमेत भएको छ । सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ वटा गरी ७७ परियोजना ‘सोकेस’मा राखिएको थियो । २१ अप्रिलसम्म आवेदन दिने समय छुट्याइएको छ । ४० देशका करिब ७ सय लगानीकर्ता सम्मेलनमा सहभागी भए । नेपालको आर्थिक विकासमा कोसेढुङ्गा मानिएको लगानी सम्मेलन सरकारले अपेक्षा गरेअनुसार लगानीको प्रतिबद्धता भने नआएको टिप्पणी भयो ।

विवादमा एसिया प्यासिफिक सम्मेलन

मङ्सिर दोस्रो साता नेपालमा भएको ‘एसिया प्यासिफिक समिट, २०१८’ सम्पन्न नहुँदै विवादमा तानियो । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको समिटलाई ‘धर्म प्रचार’ गर्ने माध्यम भन्दै चर्को आलोचना भयो । अन्तर्रा््िष्ट्रय गैर सरकारी संस्था (आईएनजीओ) युनिभर्सल पिस फेडरेसन–नेपाल (यूपीएफ–नेपाल) मुख्य आयोजक रहेको यो समिटमा विश्वका ४५ देशबाट १ हजार ५ सयभन्दा बढी पाहुना सहभागी भएका थिए । समिटमा सहभागी हुन ७ देशका राष्ट्र तथा सरकार प्रमुख र ५ सयभन्दा बढी मन्त्री तथा सांसदहरु काठमाडौं आएका थिए ।

‘विवादास्पद आईएनजीओ’को निमन्त्रणामा आएका विदेशी पाहुनालाई सरकारले स्वागत सत्कार गरेपछि र आईएनजीओले नेपाल सरकारलाई सह–आयोजकको दर्जा प्रदान गरेपछि यो समिट थप विवादमा तानियो र यसको उद्देश्यमाथि पनि प्रश्न उठ्यो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम

सरकारले फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । रोजगारीको खोजीमा विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रयासस्वरुप सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएको हो । सरकारले ‘हाम्रो भविष्य, हाम्रो सरकार’ नारा दिएर बेरोजगारी सरकारको मुख्य चुनौती रहेको र यसविरुद्धको एक ऐतिहासिक घोषणा प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको जनाएको छ ।
कार्यक्रमको उद्देश्य पूरा भए अब मुलुकमा कोही पनि बेरोजगार नबस्ने सरकारी दाबी छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले काम खोज्ने र कामदार खोज्नलाई सूचीकृत गराउने प्रकृया अघि बढाइसकेको छ । जसअन्तर्गत स्थानीय तहमा रोजगार संयोजकको नियुक्तिसमेत सरकारले गरेको छ ।

रहस्यकै गर्भमा २ चर्चित प्रसङ्ग

वर्ष २०७५ भर अत्यधिक चर्चामा रहेका घटना हुन्– निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन तस्करी प्रकरण । तर यी दुवै घटनाको चुरो अझै पनि पत्ता लागेको छैन । कञ्चनपुरकी निर्मला पन्तका हत्यारा र ३३ किलो सुनकाण्डका अभियुक्त को हुन् ? भन्ने विषयमा वर्षभरीको अनुसन्धानबाट पनि खुल्न नसकेपछि दुवै घटना रहस्यकै गर्भमा छन् । दुवै घटनामा सरकारी स्तरबाट गरिएका अनुसन्धान र छानविनले पूर्णता नपाएपछि आम मानिसमा सरकारप्रति संशय पैदा भएको छ । ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या २०७४ कै घटना भए पनि २०७५ मा यसबारे व्यापक अनुसन्धान र खोजबिन भएको थियो । त्यस्तै कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या भयो । हत्याराको पहिचान र कडा कारबाहीको माग गर्दै सडकदेखि सदनसम्म आन्दोलन भयो । उक्त घटनापछि निर्मलाका बाबुआमा महिनौँसम्म अनसन बसे । घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारी र अन्य गरी झण्डै एक दर्जन छानविन समितिहरु बने । कतिपयको जागिर नै गयो । तर पनि घटना अझै रहस्यमय नै छ ।

चर्चित व्यक्ति जो २०७५ मा रहेनन्
वर्ष २०७५ मा केही प्रतिष्ठित व्यक्तिहरूको मृत्यु भयो । जसमा बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री, वरिष्ठ सर्जन, पञ्चायतका सूत्रधारसमेत रहेका छन् । फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बहालवाला मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गयो । त्यसैगरी वृद्धभत्ताका सूत्राधार मानिने नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका भरतमोहन अधिकारीको फागुन १८ गते निधन भयो । २०५१ सालको कम्युनिस्ट सरकारका अर्थमन्त्री रहेका अधिकारी आफ्नो गाउँ आफै बनाउँ लगायत लोकप्रिय कार्यक्रमका योजनाकार थिए ।

यसअघि पुस ३ गते पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भयो । लामो समयदेखि कलेजोसम्बन्धी रोगका कारण कमजोर बनेका गिरीको ९३ वर्षको उमेरमा निधन भएको हो ।

०१७ सालमा पञ्चायती व्यवस्था स्थापना गर्नुपूर्व नेपाली काँग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रूपमा चिनिन्थे । ०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गिरी मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पनि असार ४ गते निधन भयो । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका देवकोटाले नेपालमा जटिल खालका अप्रेसन गरेका थिए ।

नेकपामा प्रदेश सांसद उत्तरकुमार वलीको फागुन १० गते निधन भयो । माघ २४ गते कार दुर्घटनामा घाइते भएका सांसद वलीको फागुन १० गते निधन भएको थियो । भक्तपुर १ (क) बाट निर्वाचित प्रदेश नम्बर ३ का नेकपा सांसद हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा निधन भयो । मस्तिष्कघातका कारण काठमाडौँको केएमसी अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो । यस्तै गण्डकी प्रदेश सांसद बागलुङ २ (ख)का प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत मङ्सिर २७ मा निधन भयो । राष्ट्रिय जनमोर्चाका तर्फबाट उनी प्रत्यक्ष  निवार्चत सांसद थिए ।

करिब छ वर्षअघिदेखि अर्धचेत अवस्थामा रहेका काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको असोजमा बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भयो । मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको कात्तिक १८ गते मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा निधन भयो । पहिलो संविधानसभा सदस्य एवं उद्योगपति दिवाकर गोल्छा र गुल्मीका पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीको पनि चैतमा निधन भयो । यस्तै फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झाको २०७५को भदौ ४ गते काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भयो । सुतिरहेको ठाउँमा मृत फेला परेपछि अनुसन्धान गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले झाकै घरमा सुरक्षा गार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालिको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई नियन्त्रणमा लियो । तर, अनुसन्धानको क्रममा तिनैजनाको संलग्नता पुष्टि हुन नसकेपछि उनीहरु छुटे । महानगरीय अपराध महाशाखाले २४ दिन हिरासतमा राखेर सानुकान्छा, आइतसिंह र जय बहादुरबारे अनुसन्धान गरेको थियो ।

वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको फागुन १२ गते विराटनगरमा निधन भयो । पोखरेलले १ सय ३० भन्दा बढी पुस्तक लेखेका छन् ।

नेपालमै पहिलो स्याटेलाइट

भूउपग्रह वैज्ञानिकद्वय आभास मास्के र हरिराम श्रेष्ठले नेपालमा पहिलो स्याटेलाइट बनाए । जापानमा नेपाली आर्थिक स्रोत र जनशक्ति परिचालन गरी उनीहरुले नेपाललाई पहिलो भूउपग्रह नेपालीस्याट १ दिएपछि मास्के र श्रेष्ठको चर्चा चुलियो ।

नेपाल सरकारका तर्फबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) बीच सम्झौता भई करिब १ वर्ष ६ महिनामा नेपालीस्याट १ बर्ड्स(३) परियोजनाअन्तर्गत बनाइएको यो स्याटेलाइटले भविष्यमा उन्नत किसिमको तस्बिर आफै खिच्न सक्नेछ । निर्माण तथा परीक्षणपछि सञ्चालन तयारीमा रहेको नेपालीस्याटको प्रक्षेपण भने ०७६ वैशाख ४ गते हुँदैछ । रातोपाटीबाट सापटी ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७५ चैत्र ३०
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७५ चैत्र ३०
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७५ चैत्र ३०
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७५ चैत्र ३०
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७५ चैत्र ३०
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७५ चैत्र ३०

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७५ चैत्र ३०
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७५ चैत्र ३०
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७५ चैत्र ३०
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७५ चैत्र ३०

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७५ चैत्र ३०
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.