हुम्लामा अज्ञात रोगले ८ जनाको मृत्यु, दर्जन बढी बिरामी

हुम्ला १४ बैशाख ।  यहाँको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आठ जनाको मृत्यु भएको छ । रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन् । गाउँपालिकाको मैला, मदान, दर्जो गाउँमा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको संख्या आठ जना पुगेको हो ।
मृत्यु हुनेमा वडा नम्बर १ का ७० वर्षीय कुशुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली, पाँच वर्षीया सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सन्जिब थापा रहेको मेैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए । बिरामीलाई वाकवाकी लाग्ने, टाउको दुख्ने, छाती दुख्ने, ज्वरो आउने गरेको स्थानीयले बताएका छन् । बिरामीको उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको स्थानीयको भनाइ छ । ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि र स्वाथ्यकर्मी नभएकाले उपचारमा समस्या हुनुका साथै विरामीको संख्या बढेको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए । अध्यक्ष मल्लका अनुसार अहिले संक्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्यकर्मीलाई कार्यक्षेत्र नछोड्न पनि निर्देशन दिइएको बताए ।
यस्तै, औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटना स्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लको भनाइ छ । घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा भएकाले के कारणले मृत्यु भएको भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जनाएका छन् ।

सम्बन्धित खवर

Back to top button