वीरगन्ज । वीरगन्ज महानगरपालिका ११ श्रीपुरमा रहेको पेन्ट र त्यसमा प्रयोग गरिने केमिकल्स (रसायन) गोदाममा भीषण आगलागी भएको छ । श्रीपुरस्थित ओम आश्रम नजिकै रहेको अजय वर्णवाल सन्चालक रहेको लक्ष्मीदीप इन्टर प्राइजेजको गोदाममा मङगलबार साँझ आगलागी भएको हो ।
आगलागीबाट गोदाममा भण्डारण गरेर राखिएका पेन्ट, पेन्ट बनाउन प्रयोग गरिने केमिकल, स्प्रिट र पेन्ट उत्पदान गर्ने मेसिन जलेर नष्ट भएका छन् ।
मंगलबार साँझ ६ बजे अचानक आगलागी सुरु भएको थियो । चार वारुण यन्त्रको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको करिब दुई घण्टादेखि निभाउने प्रयास गरिरहेका छन् ।
अगो गोदामबाट छिमेकमा रहेको घरतर्फ सल्किएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । आगो नियन्त्रणमा लिन वीरगन्ज महानगरपालिकाका दुई, पोखरीया नगरपालिका र कलैया उपहानगरपालिकाका दुईसँगै ६ वटा वारुण यन्त्र पुगेका छन् ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन् । प्रहरी नायव उपरीक्षक राईले भने, ‘आगोले गोदाम भित्रका पेन्ट र केमिकलको ड्रमका साथै मेसिन पनि जलेर नष्ट भएका छन् ।’
गोदामका सन्चालक वर्णवाल पनि अहिलेसम्म सम्पर्कमा नआएकाले क्षतिको विवरण यकिन हुन नसकेको राईको भनाइ छ । उद्योगबाट सुरु भएको आगो छिमेकमा रहेको घरसम्म फैलिएको राईको भनाइ छ ।