यी हुन् दुईमहिनासम्म बालिका बन्दक बनाइ सामुहिक बलात्कार गर्ने

रौतहट । बालिकालाई दुई महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गर्ने ३ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको गुजरा नगरपालिका ४ की १३ बर्षीया बालिकालाई अपहरण गरी साढे दुई महिना भन्दा बढी समय बन्धक बनाएर पटक पटक सामूहिक बलात्कार गरेको अभियोगमा गुजरा ४ जंगलसैयाका ३६ बर्षीय बालिष्टर चौधरी, २४ बर्षीय धर्मेन्द्रकुमार चौधरी र १९ बर्षीय जियालाल चौधरीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चर्तुभुज ओझाले जानकारी दिए।उनीहरुले बालिकालाई वैशाख २४ गते राति साढे १२ बजे घरमा सुतिरहेको अवस्थामा अपहरण गरेका थिए । सर्लाही, पर्सा र भारतको विहार राज्यस्थित मैनाटारसम्म पुर्याएर पटक पटक बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन्। उनलाई प्रहरीले पर्साको एक गाउँबाट उद्दार गरेको थियो ।

यसरी भयो घटनाः

राति अपहरणमा परेपछि वैशाख २५ गते विहान परिवारले छोरीको खोजविन सुरु गरेको थियो । सुतेको कोठामा छोरी खोज्न जाँदा ओछ्यानमा नभेटिपछि पिताले उपचार गर्न प्रायः घरमा आइरहने वलिष्टरलाई छोरीको खोजविन गरिदिन आग्रह गरे । प्रहरीका अनुसार उनी नै घटनाका मुख्य अभियुक्त हुन्।पिताको आग्रहपछि बालिष्टरले, ‘चिन्ता नगर तिम्रो छोरीलाई भोलिसम्म ल्याइदिन्छु, कसैलाई पनि नभन’ भनेर जवाफ दिए । यस्तो जवाफपछि पिता एक दिन छोरी फर्किने आशमा बसे । तर, छोरी नफर्किएपछि भोलिपल्ट पुनः सोध्न जाँदा बलिष्टरले उल्टै मार्ने धम्की दिए । उनको धम्कीपछि न्याय माग्न बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिए ।

गाउँमा मेडिकल थापेर सामान्य उपचार गर्ने बालिष्टरले छोरी विरामी परेको बेला घरमा उपचार गर्नको लागि आएको बताउँदै पीडितका वुवाले भने, ‘छोरीलाई त्यही दिन अपहरण गर्ने उनले योजना बनाएका रहेछन् । राति सुतिरहेकै अवस्थामा छोरीलाई घरबाट उठाएर अपहरण गरी लगे । अपराधीहरुलाई हदैसम्म कारवाहीका लागि इप्रका गरुडामा उजुरी दिए । डाक्टरलाई भगवानको रुपमा हेरिन्छ तर डाक्टरको रुपमा परिचित यी दानवले मेरो छोरीको भविष्य बर्बाद गरे । यिनीहरुलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ ।’अभियुक्तविरुद्ध प्रहरीमा उजुरी दिएपछि आरोपीहरुले उच्च अदालतमा निशेधाज्ञा समेत जारी गरी अनुसन्धान प्रक्रियामा बाधा पुर्याएको थियो । प्रहरी निरीक्षक ओझाले बालिका अपहरण गरी लगेको उजुरी आएपछि वालिष्टरका पिता रामइश्वर चौधरीलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया सुरु गरेपछि प्रहरी अपहरणकारीसमक्ष पुगेको बताए ।

घटनाको विषयमा अनुसन्धान गर्दै जाँदा प्रहरीले बालिकालाई पर्सा जिल्लाको एक गाउँवाट सकुशल रुपमा अपहरण मुक्त गराएको छ भने तीनै अभियुक्तलाई पक्राउ गरेको छ । अभियुक्तलाई जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय गरुडाले मंगलवार सार्वजनिक गरेको छ।बालिकालाई उद्दार गराउन प्रहरीले प्रविधीको प्रयोग गरेर खोजतलासमा सिआइबी र पर्सा प्रहरीको टोली परिचालन भएको थियो । दुबै टोलीको सक्रियतामा असार २७ गते वीरगञ्ज महानगरपालिका ८ बाट बेवारिसे अवस्थामा बालिकालाई उद्दार गरिएको हो । उद्दार भएकी पीडित बालिकासंग प्रहरीले अनुसन्धान एवं सोधपुछ गर्दा उनीहरुको नामबताएपछि प्रहरीले असार २९ गते बालिष्टरलाई बाराको कलैयाबाट, चौधरी र महतोलाई गरुडाबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ओझाले बताए । उनका अनुसार तिनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

सम्बन्धित खवर

Back to top button