पर्सामा भाइले चलाएको गोलीबाट दाइको मृत्यु

वीरगन्ज । पर्सामा भाइले हानेको गोली लागेर दाइको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका १ बलुवामा बिहीबार साँझ भाइले हानेको गोली लागेर गम्भीर घाइते ४८ वर्षीय शेख फारुकको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

घरायसी विवादका क्रममा जिराभवानी १ महादेवपट्टीको बलुवाका शेखलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख फारुक सेराजुद्धिनले नलकटुवा पेस्टोलबाट गोली हानेका थिए ।

गोलीले दाहिने पाखुरा छेडेर गम्भीर घाइते भएका शेखको शुक्रबार बिहान मृत्यु भएको हो । गोली लागे लगत्तै उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यहा उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा पुर्याइएको थियो । त्यहाँ पनि उपचार असम्भव देखिएपछि काठमाडौं लाने क्रममा शुक्रबार बिहान ७ बजे उनको निधन भएको हो ।

गोली हान्ने भाइ सेराजुद्धिनलाई प्रहरीले बिहीबार राति नै पक्राउ गरिसकेको छ । पेस्तोल र गोलीसहित पक्राउ परेका भाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् ।

घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । प्रहरीले भाइको साथबाट नलकटुवा पेस्तोल, त्यसमा लाग्ने गोली तीन थान र एउटा खोका बरामद गरेको छ । गोली हान्नुको कारण खुल्न नसकेको शर्माको भनाइ छ ।

सम्बन्धित खवर

Back to top button