पोर्चुगल । गुल्मीको मुसीकोट नगरपालिका–६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ। पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९ः३० बजेतिर साइकलमा सवार रमेशलाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएको थियो। उपचारका क्रममा सोही राति उनको निधन भएको बताइएको छ। गम्भीर घाइते मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेशको उपचार भइरहेको छ। रमेश एक वर्ष अगाडि पोर्चुगल लिस्बन आएको उनका दाजु अमृतले जानकारी दिए।
उनको दाहसंस्कार पोर्चुगलमै गरिने परिवारले जनाएको छ। अन्त्येष्टिका लागि आवश्यक कानुनी प्रक्रिया सुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले जानकारी दिए। नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानुनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ। मृतक रमेशका आमाबुबा पाँच दाजुभाइ तथा एक दिदी छन्। सन् २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाएका छन्।