नेपाल पुलिस क्लबले उचाल्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि


काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। काठमाडौं भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै पुलिस क्लबले उपाधी उचालेको हो। आर्मीले दिएको १२६ रनको लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। पुलिसको जितमा अमित श्रेष्ठले ४४ र सुनिल धमलाले ४२ रनको योगदान गरे।
त्यस अघि किर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले ३३.३ ओभरमा सबै विकेट गुमाउनुपुर्व १२५ रन बनाएको थियो। उसका लागि सोमपाल कामीले ३५, राजु रिजालले ३२, भिम सार्कीले २० तथा रोहितकुमार पौडेलले १८ रन बनाए। अन्य ब्याटस्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। आर्मीलाई सस्तैमा समेट्ने क्रममा ललितनारायण राजवंशी र पवन सर्राफले समान ४ विकेट लिएका थिए।











