काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललेका सातमध्ये ६ वटा प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको बताएका छन्। सरकारले पूर्वाधार अभावमा भारत र तेस्रो मुलुकबाट आउने तरकारी र फलफूलको विषादी परीक्षा रोक्नु परेको बताइरहेका बेला मन्त्री खनालले भने कर्णालीबाहेक अन्य सबै प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको खुलासा गरेका हुन्।
‘कर्णालीबाहेक सबै ६ वटा प्रदेशमा एक–एकवटा विषादी परीक्षण केन्द्र छ। एक नम्बरको विर्तामोड, २ को सर्लाली, ३ कालिमाटी, गण्डकीको पोखरा, पाँच नम्बरको बुटवल र सात नम्बरको २ ठाउँमा छ’, उनले भने, ‘भारतबाट आउने तरकारी र फलफूल ती सबै प्रयोगशालामा परीक्षण भइरहेको थियो। तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले किन रोक्यो मैले केही भन्न सक्दिनँ।’
मन्त्री खनालले कालिमाटीमा रहेको अन्तर्राष्ट्रियस्तरको केन्द्रीय ल्याबले २९ वटा विषादी परीक्षण गरिरहेको पनि जानकारी दिए। ‘हामीसँग अन्तर्राष्ट्रिय मापदण्डका प्रयोगशाला छन्। भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षणको निर्णय राजपत्रमा प्रकाशित भएपछि मैले काम थालेका हुँ’, उनले भने, ‘फेरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परीक्षण रोक्न क्याबिनेटमा प्रस्ताव लगेपछि किन रोकियो ? म जान्दिनँ।’
नेपालबाट भारततर्फ जाने तरकारी र फलफूल कोलकाता र लखनउ लगेर अहिले पनि विषादी परीक्षण भइरहेको बताउँदै उनले नेपालमा त केही किलोमिटरको दुरीमा विषादी परीक्षणस्थल रहेको बताए ।
तत्काल नयाँ असम्भव
मन्त्री खनालले नयाँ विषादी परीक्षणस्थल तत्काल स्थापित गर्न नसकिने बताएका छन्। ‘६ महिनामै विषादी परीक्षणस्थल स्थापना सम्भव छैन, हाम्रो खरिद प्रक्रिया धेरै झन्झटिलो छ। त्यसका लागि हामीलाई कम्तीमा ४ अर्ब रुपैयाँ लाग्छ’, उनले भने, ‘अर्थसँग बजेट मागिसकेका छौँ। तर खरिद प्रक्रिया पुरा गर्न ९ महिना लाग्छ। अहिले नै सातवटा ल्याबबाट परीक्षण भइरहेको छ। यसैलाई तत्कालका लागि निरन्तरता दिन सकिन्छ।’ यो सामग्री थाहाखबरले तयार पारेको हो ।