मन्त्रीहरू महंगा गाडीमा, दुःखी जनता काम खाेज्दै खाडीमा

काठमाडाैं : दीन दुःखी गरिव जनताका अधिकांश छाेराछाेरी खाडीमा गएर आफ्नाे थाप्लाे माथिकाे ऋण कम गर्न तल्लिन छन् । रातदिन नभनी अर्काकाे भूमिमा रगत पसिना बगाउँदैन् । रगत पसिना मात्रै हाेइन कतिले आफ्नाे ज्यानकाे कुर्वानी समेत गरिरहेका छन् । तीनै युवाहरूकाे रगत र पसिना वाफतकाे  रेमिट्यान्सले देशको अर्थतन्त्र  धानेको छ ।

व्यापार घाटा वर्षेनी चुलिँदो छ । तर सरकारका प्रधानमन्त्री केपी शर्मा ओली समृद्धिको भाषण दिनमै मस्त छन् । समृद्धि कसरी आउँछ र कसरी ल्याउने भन्ने विषयमा चर्चा परिचर्चा उनको रुचीमा छैन । फगत समृद्धि शब्दको एक सूत्रीय रटानमा मग्न छन् उनी ।

ती युवाहरू, जसले आफ्नै देशमा रगत पसिना बगाउन पाएका छैनन् । मुलुकमा ‘ब्रेन-ड्रेन’काे अवस्था सिर्जना भएकाे छ । राम्राे जनशक्ति देशभित्रै परिचालन गर्न सकेकाे अवस्था छैन् । जसले गर्दा देशलाई आधुनिक दिशा तर्फ लैजान सकिने कुनै छाट देखिदैन । बेराेजगारहरू उत्पादन गर्ने कारखाना बनेकाे छ देश । यसरी मानव स्राेतकाे व्यवस्थापन नै नगरिकन समृद्धिकाे चर्काे नारा घन्काउँदैमा देशकाे मुहार परिवर्तन हुनेवाला छैन् ।

काम खाेज्दै खाडीमा जाने क्रममा कति युवायुवति दलालहरूकाे फन्दा परेका छन् ।  कतिकाे घरबार उजाडिएकाे छ । कतिले आ त्माह त्या गरेका छन् । फ्रि भिजाकाे नाममा ब्रह्मलुट भएकाे छ । मुस्किलले खाडीमा पुगेपछि पनि नर्ककाे जीवन विताउन बाध्य छन् नेपालीहरू । सरकारले त्यसतर्फ कहिल्यै  चासाे देखाएन । अनि खाेक्राे समृद्धिकाे वात मार्दैमा हुन्छ त आमूल परिवर्तन ?

समृद्धिपछि सरकारले भट्याउने अर्को शब्द सुशासन हो । तर सुशासनका संकेत र सूचांकहरूमा सरकारले देखिन लायक केही गरेको महशुस हुँदैन । बरू ओली सरकारको मन्त्रीमण्डलमा सहभागि मन्त्रीहरू विलासी गाडी चढेर सुशासन शब्दकै मजाक उडाइरहेका छन् । किनकी सरकारका प्रायः मन्त्रीहरू चढ्ने गाडी एक करोड घटीका छैनन् ।

सर्सती हेरौं हाम्रा मन्त्रीहरू चढ्ने महंगा गाडीः
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल टोयोटा कम्पनीको ल्याण्डक्रुजर गाडी चढ्छन्, जसको मूल्य दुई करोडभन्दा बढी रहेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडा सवा करोड पर्ने निशान कम्पनीको एक्सट्रेल गाडी चढ्छन् । गृह मन्त्री रामबहादुर थापा ‘बादल’ मित्सुबिसी कम्पनीको पजेरो गाडी चढ्छन्, जसको मूल्य डेढ करोडभन्दा बढी पर्दछ ।

त्यस्तै, सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा दुई करोड मूल्य पर्ने टोयोटा कम्पनीको ल्याण्डक्रुजर गाडी चढ्छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चढ्ने टोयोटा कम्पनीको ल्याण्डक्रुजर गाडीकाे मूल्य दुई करोडभन्दा बढी मूल्यकै छ । उर्जामन्त्री वर्षमान पुन ९३ लाख पर्ने हुन्डाई कम्पनीको टक्सन गाडी चढ्छन् ।

त्यस्तै, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल महिन्द्रा कम्पनीको एक्ययुभी ५०० मोडलको गाडी चढ्छन्, जसको मूल्य ७८ लाख पर्दछ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव टाटा कम्पनीको स्ट्रोम गाडी चढ्छन् । यसको मूल्य ६० लाख पर्दछ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत ल्याण्डक्रुजरको प्राडो गाडी चढ्छन्, जस्को मूल्य २ करोड रहेको छ ।

त्यस्तै, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई फोर्ड कम्पनीको इन्डेभर गाडी चढ्छन । मन्त्री चढ्ने यो गाडीको मूल्य १ करोड ६ लाख रहेको छ । अघिल्लो कार्यकालमा सादगीपूर्ण जीवन जिउने मन्त्रीको छबि बनाएका वर्तमान सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अहिले १ करोड पर्ने फोर्ड कम्पनीको इन्डेभर गाडी चढ्छन् ।

त्यस्तै, युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्मा हुन्डाई कम्पनीको क्रेटा गाडी चढ्छन् । यो गाडीको मूल्य ६२ लाख ५६ हजार रहेको छ । कानुनमन्त्री भानुभक्त ढकाल २ करोड मूल्य पर्ने ल्यान्डक्रुजर कम्पनीको प्राडो गाडी चढ्छन् । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल फोर्ड कम्पनीको इन्डेभर गाडी चढ्छन् । यो गाडीको मूल्य १ करोड २९ लाख पर्दछ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगर २ करोड मूल्य पर्ने टोयोटा कम्पनीको ल्याण्डक्रुजर गाडी चढ्छिन् ।

यसरी हेर्दा मन्त्रीहरूलाई राज्यले ल्याण्डक्रुजर, प्राडो, पजेरो, स्कार्पियोजस्ता महंगो ब्राण्डका गाडीहरू उपलब्ध गराएको देखिन्छ । सस्तो गाडी चढ्ने भनिएका मन्त्रीहरूले पनि टाटाको ‘स्ट्रोम’ र हुण्डाईको ‘क्रेटा’जस्ता गाडीहरू प्रयोग गर्छन्, जसको मूल्य आधा करोडभन्दा बढी पर्छ ।

सुशासन र मितव्ययीताको कुरा गर्ने सरकारले मन्त्रीहरूलाई उपलब्ध गराएको गाडी आवश्यकता हो कि विलासिताको लागि ? समृद्धि मन्त्रिमण्डलका सदस्यहरूले देखाउने रवाफमा मात्रै प्रकट हुने हो कि जनताको जीवनमा पनि आउँछ ? प्रश्न स्वाभाविक रूपमा उठ्छ !

सम्बन्धित खवर

Back to top button