काठमाडाैंमा विद्युतीय बस सेवा संचालन, अरुभन्दा सस्ताे भाडा

काठमाडौं : काठमाडाैंमा आजबाट विद्युतीय बस सेवा संचालन आएको छ । सुन्दर यातायात प्रालिले आजबाट चक्रपथमा विद्युतीय बस सेवा संचालन ल्याएकाे हाे । गत मंगलबार काठमाडौंकाे चावहिलस्थित भ’त्किएको पुल नजिकै चार्जिङ स्टेसनको उद्घाटन भएसँगै चक्रपथमा विद्युतीय बस संचालन आएको हो । आजबाट संचालनमा आएको चार वटा विद्युतीय बस उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।

सुन्दर यातायात प्रालिले संचालनमा ल्याएको ३० किलो वाटको क्षमता भएको उक्त चार्जिङ स्टेसनको उद्घाटन ऊर्जा तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले गरेका थिए । यसअघि ७ ओटा बस संचालनमा ल्याउने भनेको सुन्दर यातायातले हालका लागि ४ ओटा बसमात्र गुडाउने प्रालिका अध्यक्ष भेष थापाले जानकारी दिए ।

उनका अनुसार आजबाट दुइ-दुइ ओटा बस रिङरोडको विपरीत दिशामा चल्नेछन् । सुन्दर यातायात प्रालिले संचालनमा ल्याएको चार्जिङ मेशिनले एक पटकमा एउटा बसमा चार्ज गर्न मिल्ने बताइएको छ । शून्य चार्ज भएको बसमा एकपटक फूल चार्ज हुने अध्यक्ष थापाले बताए । उनले अब छिट्टै ६०, १२० र ४०० किलो वाट क्षमता भएको सुपर चार्जिङ मेसिन समेत ल्याउने तयारी भइरहेको जानकारी दिए । सुन्दर यातायातका उक्त विद्युती बसमा यात्रुलाई अगाडी भन्दा पछाडी बस्न आरामदायी सिटको व्यवस्था रहेकाे जनाइएकाे छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको हो ।

अरुभन्दा ६ रुपैयाँ सस्ताे

सार्वजनिक यातायातका अरु सवारी साधन भन्दा भाडादर सस्ता हुने सुन्दर यातायात प्रालिले जनाएकाे छ । सामान्यतय चक्रपथ परिक्रमाको अन्य सार्वजनिक सवारी साधनले ३० रुपैंया भाडा लिँदै आएकाे भएपनि विद्युतीय बसमा जम्मा २४ रुपैंया मात्रै ताेकिएकाे सुन्दर यातायात प्रालिले जनाएको छ । सुन्दर यातायातले ३० रुपैयाँलाई भाडा आधार मानेर अन्यको तुलनामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

गाडी खरिदमा धेरै महँगो पर्ने भएपनि संचालनमा अन्य सवारीको तुलनामा करिब ६ गुणा सस्तो देखिएपछि भाडामा समेत हेरफेर भएको हो । केहि समयपछि अन्य बससमेत थपेर काठमाडौंका अन्य रुटमा समेत विद्युतीय बसको सेवा विस्तार गर्ने प्रालिले जनाएको छ । आज उद्घाटन गरिएता पनि भाेलीबाट मात्रै विद्युतीय बस सेवा संचालनमा आउने सुन्दर यातायात प्रालिले जनाएकाे छ ।

सम्बन्धित खवर

Back to top button