उपनिर्वाचन अपडेट : नेकपा र कांग्रेस कसलाई कति मर्का ?

काठमाडाैं : संघ, प्रदेश र स्थानीय तहका लागि भएकाे उपनिर्वाचन शनिबार सम्पन्न भएकाे छ । उपनिर्वाचन अन्तर्गत एउटा प्रदेश सभा र ३९ ओटा वडाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएकाे नतिजाअनुसार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई केही ठाउँ फाइदा भएको छ भने केही ठाउँ घाटा बेहेर्नु परेको छ । प्रदेश सभामा कांग्रेसले एक सिट जीतेकाे छ । उपचुनाव भएको तीन प्रदेश सभामध्ये भक्तपुर १ (क) बाट कांग्रेसले एक सिट हात लगाएकाे हाे । अन्य दुई ठाउँकाे नतिजा सार्वजनिक हुन बाँकी छ । भक्तपुरबाट कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन् । अघिल्लो चुनावमा यो प्रदेशबाट तत्कालीन एमाले विजयी भएको थियो ।

पालिकातर्फ पनि सत्तारुढ नेकपाले ७ ओटा वडाकाे अध्यक्ष पद गुमाएको छ । नेकपाले पाँचथरको हिलिहाङ ७, मोरङको धनपालथान २, सर्लाहीको हरिपुर्वा १, चितवनको भरतपुर १६, अर्घाखाँचीको मालारानी ३, दाङको घोराही १६ र बैतडीको दोगडाकेदार ४ को वडाध्यक्ष गुमाएको हो ।

यसअघि जितेका ७ वटा वडा गुमाए पनि नेकपाले यसअघि अरुले जितेका थप ८ ओटा वडा भने आफ्नो पक्षमा पारेको छ । नेकपाले रोल्पाको थवाङ १ सहित पाँचथरको फिदिम १, भोजपुरको पौवादुम्मा १, सिरहाको कल्याणपुर १२, सिन्धुपाल्चोकको इन्द्रावती ८, बाँकेको कोहलपुर ६, अछामको मेल्लेख ५ र बाजुराको त्रिवेणी १ मा आफ्नाे पक्षमा पारेकाे हाे ।

यस्तै यसअघि नेकपाले जितेका ६ र राजपाले जितेका १ ठाउँको वडाध्यक्ष आफ्नो पक्षमा पार्न सफल भए पनि कांग्रेसले ८ वटा वडा गुमाएको छ । कांग्रेस पाँचथरको फिदिम १, भोजपुरको पौवादुम्मा १, सिरहाको कल्याणपुर १२, सिन्धुपाल्चोकको इन्द्रावती ८, बाराको बारागढी १, बाँकेको कोहलपुर ६, बाजुराको त्रिवेणी १ र अछामको मेल्लेख ५ मा पराजित भएको हो । यसअघिको चुनावमा पराजित भए पनि कांग्रेसले उपचुनाव जितेका वडाहरुमा पाँचथरको हिलिहाङ ७, मोरङको धनपालथाम २, रौतहटको गढीमाई २, चितवनको भरतपुर १६, अर्घाखाँचीको मालारानी ३, दाङको घोराही १६ र बैतडीको दोगडाकेदार ४ छन् ।

सम्बन्धित खवर

Back to top button