असारभित्र सुन्दरीजलमा मेलम्चीको पानी


काठमाडाैं, ४ पुस : मेलम्ची खोला छङछङ् बगिरहेको छ। केही मजदुर रड बुुन्दै छन्। कोही ड्रिल गरेर पहरा फोर्दैछन्। स्काभेटर खोला खोलेर ढुंगा निकाल्न प्रयोग भइरहेको छ। टिपरहरू बालुवा–गिट्टी बोकिरहेका छन्। अन्य मजदुरहरू फलाम काट्ने, रड मिलाउँदै छन्।
शुक्रबार अपराह्न बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित आम्बाथानमा यस्तैयस्तै दृश्य देखिन्थ्यो।यहाँ इन्जिनियरहरू पहेँलो ज्याकेट र प्लाष्टिक ह्याट लगाएर मजदुरलाई निर्देशन दिइरहेका थिए। कामको तीव्रता देख्दा सम्झौताको समयअघि नै काठमाडौँमा पानी झर्ने आश गर्न सकिन्थ्यो। चालु आर्थिक वर्षको असार मसान्तभित्रैमा सुन्दरीजल पानी झार्ने योजनाका साथ अहिले यहाँ कामलाई तीव्रता दिइएको छ।



आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने, ‘आगामी असारभित्रैमा अस्थायी बाँध बाँधेरै भए पनि सुन्दरीजलमा पानी झार्ने तयारी भइरहेको छ।’ तेस्रो पटक नियुक्त भएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले पूर्ण क्षमतामा कामदार र मेशिनरी औजार परिचालन गरेकाले असारमा पानी पुर्याउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै आएको छ। शुक्रबार आयोजनाको मुहान क्षेत्र पुग्दा कार्यकारी निर्देशक खत्री फिल्डमा आफैँ खटेका थिए।
यहाँ अहिले हेडवक्र्स (इन्टेक) को काम तीव्र रुपमा भइरहेको छ। त्यही हेडवक्र्समार्फत पानी टनेलमा पठाइन्छ। टनेलको गेट बनाउने कामसमेत जारी छ। उक्त कम्पनीसँग भएको सम्झौतामा ३२ वटा गेट बनाइने उल्लेख छ। दश प्रतिशत बोनसको व्यवस्था भएकाले चिनियाँ निर्माण कम्पनीले काम तदारुकताका साथ गरिरहेको खत्रीले बताए। ढिला गरेमा भने जरिवाना लाग्नेछ। अहिले कामको प्रगति देख्दा असारमा पानी झार्ने सकिने उनले दाबी गरे। उनले सुरुङभित्रको काम ‘फिनिसिङ’ को चरणमा पुगेकाले १० प्रतिशत मात्रै बाँकी रहेको बताए।