वित्तीय साक्षरता अभिवृद्धिमा सहकारी -इन्दिरा पन्त

पुस ४, २०७६ – वित्तीय साक्षरता भन्नाले सामान्यतया आम्दानी, खर्च, बचत तथा लगानी लगायत वित्तीय क्षेत्रका विभिन्न विषयहरू बुझ्ने क्षमतालाई जनाउँछ । कुनै पनि व्यक्तिमा यस्तो चेतना भए–नभएको मापन गर्ने विधि हुँदैन । व्यवहारबाट भने त्यसको आँकलन सजिलै गर्न सकिन्छ ।

जस्तै– घरमा नगद थन्काइराख्नुको सट्टा वित्तीय संस्थामा राख्ने, आम्दानी, बचत, खर्च तथा लगानीको योजना बनाउने, व्यक्तिगत तथा पारिवारिक बजेट बनाउने र वित्तीय रूपमा अनुशासित बन्ने कुरा वित्तीय रूपमा साक्षर व्यक्तिबाट मात्र सम्भव हुन्छ । वित्तीय संस्थाहरूको कारोबारको आकार र प्रवृत्तिले पनि वित्तीय मुलुकमा साक्षरताको स्थिति अनुमान गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले केही समय अगाडि वित्तीय पहुँच सम्बन्धी एक अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनका अनुसार ६१ प्रतिशत नेपाली नागरिकको वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा गरी कम्तीमा एक निक्षेप खाता छ । यस बाहेक लघुवित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थामा खोलिएका व्यक्तिगत निक्षेप खाता भने यस अध्ययनमा समावेश छैन । अन्य विषयगत सहकारी संस्थाले पनि बचत तथा ऋणको कारोबार गर्ने भएकोले यस क्षेत्रलाई समेत समावेश गर्दा झन्डै ८० प्रतिशत नागरिक कुनै न कुनै रूपमा वित्तीय सञ्जालमा जोडिएको अनुमान हुने गरेको छ ।

बैंकमा निक्षेप खाता खोलिँदैमा व्यक्तिलाई पूर्णरूपमा वित्तीय साक्षर भएको मान्न सकिँदैन । यो त वित्तीय साक्षरताको प्रारम्भिक चरण मात्र हो । आफूसँग भएको नगद सुरक्षित गर्न वा व्याज आर्जन गर्ने उद्देश्यले बचत खाता खोल्न सकिन्छ । कतिपय अवस्थामा त बढी व्याज पाउने आसमा पनि वित्तीय सूचक राम्रो नभएका संस्थाहरूमा बचत गरेर जोखिममा परेका उदाहरणहरू पनि थुप्रै छन् । अर्कोतर्फ नेपालमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू गरी ७५ वित्तीय संस्थाबाट करिब १४ लाख व्यक्तिलाई मात्र ऋण प्रवाह भएको कुरा सोही अध्ययन प्रतिवेदनले देखाउँछ । यसअनुसार बैंकिङ क्षेत्रबाट कुल जनसंख्याको ५ प्रतिशतभन्दा कमलाई मात्र कर्जा उपलब्ध भएको स्थिति देखिन्छ । यसको निराकरण गर्न वित्तीय साक्षरता र वित्तीय पहुँचमा वृद्धि गरी उद्यमशीलताको विकास गर्न व्यापक रूपमा आकर्षक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ । वित्तीय संस्थाबाट ऋण लिएर उद्यमशील बन्न माथिल्लो स्तरको वित्तीय चेतना, ज्ञान र सजगता चाहिन्छ ।

वित्तीय साक्षरता र समृद्धिको बीचमा दरिलो सम्बन्ध हुन्छ । वित्तीय साक्षर व्यक्तिले आफ्ना आवश्यकताको प्राथमिकीकरण गर्दै उपलव्ध सीमित स्रोत र साधनको प्रभावकारी ढंगले उपयोग गर्न सक्छ । यसैकारण नीति निर्माण तहमा पछिल्लो समय वित्तीय साक्षरता अभिवृद्धि गर्ने विषयले प्राथमिकता पाउन थालेको छ । वित्तीय क्षेत्र रणनीति र पञ्चवर्षीय योजनाका साथै सरकारको बजेट र मौद्रिक नीतिमा समेत यसलाई महत्त्वका साथ उल्लेख गर्न थालिएको छ । सहकारी क्षेत्रले पनि वित्तीय साक्षरतालाई आफ्ना कार्यक्रममा समावेश गर्न थालेको छ ।

वित्तीय साक्षरतालाई कसरी प्रभावकारी ढङ्गले अघि बढाउने भन्ने सन्दर्भमा स्पष्ट दृष्टिकोण बनेको देखिँदैन । नेपाल राष्ट्र बैंक, सहकारी तथा अन्य वित्तीय क्षेत्रले वित्तीय साक्षरताको आवश्यकता महसुस गरेको त देखिन्छ, तर ठोस र प्र्रभावकारी कार्यक्रम सञ्चालन भएको छैन । कार्यक्रम आयोजना वा बाटो खर्चमै ठूलो रकम खर्च गरी एकाध घन्टाको प्रवचनले ठोस नतिजा दिन सक्दैन । दुर्गम र पिछडिएको स्थानहरूमा त संस्था र कार्यक्रम दुबैको कमी छ । संस्थागत रूपमा कसले कुन स्तरको वित्तीय साक्षरता कार्यक्रम गर्ने भन्ने कुनै मार्गदर्शन बनेको देखिँदैन । विद्यालय तहदेखि नै विस्तृत ढंगले पाठ्यक्रममा वित्तीय साक्षरता समावेश गरी विद्यार्थीलाई सानैदेखि पैसाको महत्त्व बुझाउने, वित्तीय योजना र बचतको अभ्यासमा सहभागी गराउन सकियो भने वित्तीय साक्षरता अभियान प्रभावकारी हुनसक्छ । पछिल्लो समय केही सहकारी संस्थाहरूले विद्यालयमा वित्तीय साक्षरता र बचत क्लब निमार्णको अभियान सञ्चालन गरेका छन् । सहकारी संस्था स्थापनाको प्रमुख उद्देश्य सामुहिक प्रयासबाट सदस्यहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्नु हो । वित्तीय साक्षरता र पहुँच सहकारीको केन्द्रविन्दु रहने गरेको छ ।

तथ्याङ्कबाट हेर्दा पनि वित्तीय क्षेत्रमा दुई तिहाइभन्दा बढी अंश रहेको बैंकिङ क्षेत्रबाट हालसम्म करिब १४ लाख नागरिकले ऋण पाएका छन् भने वित्तीय क्षेत्रमा करिब १३ प्रतिशत योगदान रहेको सहकारी संस्थाहरूमा ६५ लाखभन्दा बढी सदस्यहरू संलग्न छन् । यसमध्ये धेरैजसो संस्थाको बचत तथा ऋण नै मुख्य कारोबार छ । सरकारी क्षेत्रबाट वित्तीय पहुँचको मापन गर्दा सहकारीको योगदान समावेश गरिँदैन । सहकारी क्षेत्र स्वयंले पनि अध्ययन, अनुसन्धानमा जोड दिएको छैन । त्यसले गर्दा करिब ३५ हजार संस्था भएको अभियानले वित्तीय साक्षरता र पहुँच अभिवृद्धिमा गरेको योगदानलाई न त आफैले तथ्यका आधारमा दाबी गरेको छ, न अन्य क्षेत्रले नै यसको कदर गरेको देखिन्छ ।

वित्तीय साक्षरता अभियान एक नियमित र सबैका लागि आवश्यक सिकाइ प्रक्रिया हो । यो व्यक्तिको व्यावहारिक अभ्यासबाट विकास हुँदै जाने प्रक्रिया पनि हो । एकातिर असाक्षरलाई साक्षर बनाउने र साक्षरलाई विज्ञ बनाउने र अर्कोतर्फ नीति निर्माण तहमा बसेकाहरूले संसारमा देखिएका असल अभ्यासलाई अवलम्बन गर्दै वित्तीय क्षेत्रको विकास र विस्तारका लागि उचित सम्बोधन गर्न पनि उच्च स्तरको वित्तीय साक्षरताको जरुरी हुन्छ । तसर्थ नीति निर्माण तहमा रहेकाहरूले वित्तीय असाक्षरलाई साक्षर बनाउन दौडनुभन्दा माथिल्लो स्तरको वित्तीय साक्षरता अभिवृद्धिमा वा विज्ञता हासिलमा केन्द्रित हुनु आवश्यक छ । प्रारम्भिक चरणको वित्तीय साक्षरताका लागि विद्यालय स्तरको पाठ्यक्रम र विद्यार्थीको सिकाइमा जोड दिनु आवश्यक छ । वित्तीय साक्षरताका माध्यमबाट विद्यार्थीले सानैदेखि बचत गर्ने बानी बसाल्ने र योजना बनाएर खर्च गर्ने तरिका सिक्छन् । आफूले सिकेको कुरा घरपरिवार तथा समाजमा पनि सिकाउँछन् । दक्षिण कोरियाले सन् १९७० को दशकमा गरेको यस्तो अभ्यासले अर्थतन्त्रमा लामो समयसम्म बचत र लगानीमा सकारात्मक प्रभाव देखिएको थियो । अन्य विभिन्न मुलुकहरूले पनि वित्तीय साक्षरतालाई अभियानको रूपमा सञ्चालन गरेको पाइन्छ ।

सहकारी संस्थाहरू वित्तीय साक्षरताका लागि प्रभावशाली माध्यम हुन सक्छन् । बैंक तथा वित्तीय संस्थाहरू नपुगेका स्थानमा सहकारी संस्थाहरू पुगेका छन् । यसको सञ्जाल अन्य कुनै पनि संस्थाहरूको भन्दा धेरै फराकिलो छ । नेपालका करिब ३५ हजार सहकारी संस्थाहरूका ६५ लाखभन्दा बढी सदस्यहरू आबद्ध छन् । त्यसैले सहकारीमार्फत सञ्चालन गरिने कार्यक्रहरू लक्षित समुदायसम्म पुर्‍याउन सजिलो हुन्छ । यसका लागि राज्यले सहकारीलाई प्राथमिकतामा राख्नु आवश्यक छ । वित्तीय साक्षरता अभियानलाई प्रभावकारी र नतिजामूलक बनाउन नीतिगत स्पष्टता हुनु आवश्यक छ । बैंक तथा वित्तीय संस्थाहरूलाई नाफाको एक निश्चित प्रतिशत सहकारी संस्थाहरूमार्फत वित्तीय साक्षरतामा खर्च गर्ने प्रावधान बनाउन सकिन्छ । यसका साथसाथै सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, निजी क्षेत्र, गैरसरकारी संस्था, दातृ निकायले नेपालमा आ–आफ्नै तरिकाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा एकीकृत रूपमा जाँदा उपलब्धिमूलक हुन्छ, कार्यक्रमको दोहोरो र तेहोरोपना हट्छ ।

वित्तीय साक्षरताको क्षेत्रमा देशमा भैरहेका अलग–अलग प्रयासहरूलाई एकीकृत गरी समन्वयात्मक ढंगले अगाडि बढाउन विभिन्न तहका सरकारले सहकारीका तहगत निकायसंँग समन्वय र कार्यान्वयन गर्न सक्छन् ।

पन्त राष्ट्रिय सहकारी विकास बोर्डकी सञ्चालक हुन् ।

सम्बन्धित खवर

Back to top button