आईजीपी आफैँले मन्त्रिपरिषद्ले गर्ने निर्णय गर्दा…


काठमाडौं : प्रहरी अस्पताल दिपायललाई स्थानान्तरण गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि नै प्रहरी प्रधान कार्यालयले धनगढी सार्ने निर्णय गरेको पत्र दिपायल पुगेपछि गृह मन्त्रालयले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसँग स्पष्टीकरण नै मागेको छ ।
‘प्रहरी प्रधान कार्यालयले दिपायलको प्रहरी अस्पताल धनगढी सार्ने निर्णय नै गरेर पत्र दिपायल पठाएको रहेछ । उक्त पत्र देखेर एकछिन त गृहसचिव नै छक्क परे,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।



प्रहरी महानिरीक्षक ज्ञवालीले आफ्नो भूमिका बिर्सिंदा लज्जित हुनुपरेको छ । उक्त फाइलबारे छलफल गर्न पछि गृहसचिवले आईजीपीलाई मन्त्रालयमा बोलाएपछि भने ‘सरी हजुर ! यो मिस्टेक भएछ’ भन्दै पत्र फिर्ता मगाएको गृह स्रोतको भनाइ छ ।
आईजीपी ज्ञवालीले हस्ताक्षर गरेको चलानी नम्बर ३९७ को पत्र ‘लकडाउन’कै बीच १७ चैतमा दिपायल पुगेको थियो । प्रहरी युनिट सार्नेदेखि नयाँ ठाउँमा प्रहरी चौकी राख्नेसम्मको निर्णय गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गर्नुपर्ने हुन्छ । तर, प्रहरी निरीक्षक प्रमुख रहेको दिपायल अस्पताल सार्ने निर्णय प्रहरी प्रधान कार्यालयले आफैँले गरेर पत्र नै पठाउनु हास्यास्पद भएको गृह मन्त्रालयको भनाइ छ ।
‘यति ठूलो निर्यणको पत्र आईजीपी सा’बले आफ्नो भूमिका के हो ? भन्ने हेक्का नराखी ल्याउनु गम्भीर त्रुटि हो,’ गृहका अधिकारीले भने । उसो त, आईजीपीले ल्याउने हरेक फाइलमा कुनै न कुनै गल्ती भएर नै आउने गरेको ती अधिकारीको भनाइ छ ।
‘हरेक पल्ट प्रहरी प्रधान कार्यालयबाट आउने फाइल नमिलेको भन्दै करेक्सनका लागि फिर्ता जान्छ । यस्तो किन दोहोरिइरहेको छ, त्यो हामीलाई थाहा हुने कुरा होइन,’ गृह स्रोतले भन्यो ।
यसअघिसमेत गृहसचिव र आईजीपीबीचको विवाद सतहमा आएको थियो । डीआईजीको दरबन्दी घटाउने कि राख्ने भन्ने विषयको छलफललाई लिएर आईजीपीको सचिवालयले अनावश्यक मिडियाबाजी गरेको गृह मन्त्रालयको बुझाइ छ ।
डोटीका संघीय सांसद प्रेमबहादुर आले तत्कालीन क्षेत्रीय प्रहरी अस्पताल सार्ने भन्ने कुरा नै गलत हुने बताउँछन् ।‘पहिला क्षेत्रीय सदरमुकाम हो । प्रदेशको राजधानी पनि दिपायल नै हुनुपर्ने थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका कारण सर्यो । तर, केही महत्त्वपूर्ण कार्यालय भने दिपायलमै राख्ने राजनीतिक सहमति भएको हो । एकाएक प्रहरी अस्पताल सार्ने भन्ने कुरा आयो । यो हुनै नसक्ने कुरा हो,’ सांसद आलेले भने ।
अस्पताल सार्ने पत्र आईजीपी ज्ञवालीले गृह मन्त्रालय नै नपठाई दिपायल कसरी पठाए, यसबारे आफूसमेत अचम्ममा परेको उनले बताए ।