काठमाडौं, २३ जेठ:राजधानीको एक होटलमा जुवा खेल्दाखेल्दै पक्राउ परेका प्रतिष्ठित ब्यापारिक घरानाका व्यक्तिहरु धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले आरोपित ९ जनामध्ये ८ जनालाई जनहीँ ३० हजार र एक जनालाई ४० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।
उनिहरुलाई प्रहरीले गत सोमबार कमलादीस्थित गगौंर बुटिक होटेलमा जुवा खेल्दै पक्राउ गरेको थियो। पक्राउ परेका व्यापारीमा बैंक सन्चालक र प्रतिष्ठित व्यापारिक समूहका सदस्यहरु छन्। व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका थिए ।
प्रहरीले आरोपी सबै ८ जनालाई नै जनहीँ तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवानाको माग गर्न राय दिएको थियो। मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा पहिलो पटक जुवा खेल्ने व्यक्तिलाई यो कारबाहीको व्यवस्था गरिएको छ । पक्राउ परेका सबै जना पहिलोपटक पक्राउ परेको प्रहरीले जनाएको छ। कानुनमा बरामद भएको रकम जफत हुने व्यवस्था छ।
उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का ‘चिप्स’ पनि बरामद भएको थियो । पाँच सय र हजार लेखिएका ती चिप्सहरु क्यासिनोमा प्रयोग हुने गरेको भएपनि त्यस पाटोमा प्रहरीले अनुसन्धान गरेको थिएन। प्रहरीले रातारात अनुसन्धान सकेर बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।