काठमाडौं, २४ जेठ: कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ जनालाई पीसीआर परीक्षणविनै घर पठाइएको छ । डिस्चार्ज गरिएकाहरु रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना रहेका छन् ।
१४ दिन आइसोलेसनमा बसेपछि लगातार दुईपटक पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने गरिएकामा त्यसो नगरी घर पठाइएको हो ।स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार कोरोनासँग मिल्दो लक्षण नदेखिएकाले डिस्चार्ज गरेका हौं र जेठ २० गते जारी गरिएको निर्देशिका अनुरुप पीसीआर परीक्षण नगरी घर पठाइएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतमले बताए।
यसअघि संक्रमितलाई डिस्चार्ज गर्दा सञ्चारकर्मीहरुलाई खबर गरेर प्रचार गर्ने गरिए पनि यसपटक भने अस्पतालले कुनै जानकारी नै नगरि डिस्चार्ज गरेको छ । घर पठाइएकालाई स्थानीय तहका स्वास्थ्य केन्द्रले निगरानी गर्ने भएकाले यसलाई अन्यथा लिन नहुने डा. गौतमले बताए ।
३६ बेडको आइसोलेसन अस्पतालमा अब ४ जना जनरल कक्षमा र ३ जना आईसीयूमा रहेका प्रवक्ता गौतमले बताए । यसअघि उक्त अस्पतालबाट दुईपटक गरी १८ जना डिस्चार्ज भइसकेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण देखिएका संक्रमितलाई मात्रै अस्पतालमा राख्ने नीति अघि सारेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले सरकारको पछिल्लो नीतिले समुदायमा कोरोना संक्रमण झन् फैलिने डर भएको बताएको छ । पार्टीका जिल्ला सचिव रामकृष्ण खांणले सरकार आफ्नो दायित्वबाट पन्छिनका लागि निर्देशिका परिवर्तन गरेको भन्दै आइसोलेसनमा बसेका संक्रमितको पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्रै डिस्चार्ज गर्ने व्यवस्था गर्न माग गरेका छन् ।