डडेल्धुरा, २८ जेठ : सुदूरपश्चिम प्रदेशसभाले भारतले मिचेको नेपाली भूमी फिर्ता गराउदै भारतीय सेना हटाउने संकल्प प्रस्ताव पारित गरेको छ। बुधबार बसेको प्रदेशसभाको बैठकबाट उक्त प्रस्ताव बहुमतले पारित भएको हो।
उक्त संकल्प प्रस्ताव गत माघ २१ गते प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काको समर्थनमा प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले दर्ता गरेका थिए। त्यसपछि पुनः जेठ २२ गते प्रदेशसभा सदस्य भरत खड्का, लालबहादुर खड्का र मालामती कुमारी रानाको समर्थनमा कर्णबहादुर मल्ल र ग्याल्बुसिंह बोहराले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सेनालाई यथासिघ्र हटाउन संयुक्त प्रस्ताव बनाएर दर्ता गरेका थिए।
त्यसमाथि छलफल भई बुधबार उक्त प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत रुपमा पारित भएको सांसद कर्णबहादुर मल्लले बताए। ‘संघीय सरकारले कुटनितिक माध्यमले यथासिघ्र अतिक्रमित भूमिबाट भारतीय सेना हटाउन पहल गनुपर्ने माग गरेको प्रस्ताव पारित भएको छ’ उनले भने, ‘प्रदेश सरकार स्थापना भएदेखि पहिलोपटक सर्वसम्मत रुपमा यो प्रस्ताव मात्रै पारित भएको हो।’