काठमाडौँ, १५ असारः भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् ।गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताए। सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका उनले बताएका छन् ।
साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताए । यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह किरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिए ।
सलह किरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताए । किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले बताए । खेतबारीमा सलह किरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह किरा धपाउन जुटेका छन् ।
सलह किरा लमजुङमा पनि प्रवेश गरेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ फेदिकुनामा आइतबार सलह किरा देखिएको हो । स्थानीयले सलह किरा प्रवेश गरेको जानकारी दिएपछि कृषि ज्ञानकेन्द्र कार्यालय लमजुङबाट कार्यालय प्रमुख रोहिणीराज घिमिरे, अर्थविज्ञ मदन रेग्मीलगायतका टोली अनुसन्धानका लागि पुगेको छ ।
कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख घिमिरेले भने, “सलह किराजस्तै देखिएको छ तर ठूलो समूहमा यो किरा आएको छैन, सलह किराको एउटा प्रजाति भएको देखिन्छ यहाँ जम्मा १०र१२ वटा मात्र फेला परेको छ ।” उनका अनुसार सलह किरा भएको आशङ्का भए पनि पुष्टि भइसकेको छैन ।