काठमाडौँ, १९ असारः कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षिय वृद्ध रहेका छन् ।
नयाँ बानेश्वर बस्ने ८५ वर्षिय वृद्धको राजधानीको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उनी उच्च रक्तचाप र पार्किन्सनको विरामी रहेको बताए । छाति दुख्ने समस्या र पिसाबमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको १७ गते राति मृत्यु भएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । शुक्रबार ७ सय ४० जना कोरोना संक्रमित थपिएसँगै नेपालम संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डा। गौतमले बताए ।