काठमाडौँ, ३० असारः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान राम जन्मभुमि अयोध्याबारे दिएको विवादास्पद भनाइ सच्याउँदै परराष्ट्र मन्त्रालयले प्रष्टिकरण दिएको छ।
मंगलबार ओलीको भनाइ सच्याउँदै भारतको अयोध्याको महत्व र यसको साँस्कृतिक मूल्य कम नहुने प्रष्टिकरण दिएको हो।
प्रधानमन्त्रीको भनाइप्रति नेपालभित्र अझ विशेष गरी आफ्नै पार्टी नेकपाभित्र व्यंग्य र आलोचना भएपछि सरकार प्रधानमन्त्रीको भनाइप्रति २४ घण्टा नबित्तिदै परराष्ट्र मन्त्रालयमार्फत स्पष्टिकरण दिन बाध्य भएको हो।
ओलीको विवादास्पद निम्नस्तरको बोलीले नेपाल र भारतको सम्बन्धमा अपुरणीय क्षति पुगेको भन्दै आलोचना भएपछि र पार्टीभित्रै सच्याउन दबाब परेपछि सरकारको यो प्रष्टिकरण आएको हो।
प्रधानमन्त्रीले भानुभक्त जन्यतको अवसरमा बालुवाटारमै आयोजित कार्यक्रममा अयोध्या नेपालमै पर्ने र भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए। यद्यपि परराष्ट्र मन्त्रालयले मंगलबार थप अध्ययन र अनुसन्धानको खाँचो औंल्याएको जिकिर गरेको छ।
उक्त अभिव्यक्ति कुनै राजनीतिक उद्देश्यका साथ नआएको र कुनै देशवासीको भावनामा चोट पुर्याउन व्यक्त नगरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयले विवाह पञ्चमी मनाउने परम्पराको स्मरण गर्दै हरेक वर्ष भारतको अयोध्याबाट सीताको जन्मभूमी जनकपुर आउने उल्लेख पनि आफ्नो विज्ञप्तिमा गरेको छ।
त्यस्तै दुई वर्षअघि नेपालको जनकपुर र अयोध्याबीच सिधा बस सेवा सञ्चालन गरेको स्मरण पनि गरिएको छ। ‘यी तथ्यले नेपाल भारतबीचको साँस्कृतिक सम्बन्धको महत्वलाई झल्काएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।