काठमाडौँ, ३१ असारः नेपालमा थप एकजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रौतहटको परोहा नगरपालिकाका ३६ वर्षका पुरुषको बुधबार निधन भएको जानकारी दिए।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।
डा.गौतमका अनुसार कोरोनाबाट मृत्यु भएका पुरुष भारतमा निधन भएका आफ्ना दाइको अन्तिम संस्कारमा सहभागी हुन भारत गएका थिए। उनी असार २४ गते भारतबाट नेपाल फर्किएपछि रौतहटको परोहा क्वारेन्टिनमा बसेका थिए।
असार २९ गते रुघाखोकी, ज्वरो तथा स्वास प्रश्वासमा समस्या आएपछि सोही दिन उनलाई नारायणी अस्पताल वीरगञ्जमा आईसीयुमा भर्ना गरिएको थियो।
स्वास्थ्यमा थप समस्या आएपछि बुधबार विहानदेखि उनलाई भेन्टिलेटरमा राखिएको थिए।