रोल्पा, ३ साउनः रोल्पा नगरपालिका १० र ४ का १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि शनिबार देखी धबाङ र गुरुङ गाउँ सिल गरिएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएसँगै सदरमुकाम लिबाङ र आसपासका बजारमा समेत पूर्ण लकडाउन गरिने भएको छ ।
गुरुङ गाउँको क्वारेन्टाइनमा बसेका युवा पीसीआर परीक्षण रिपोर्ट नआउँदै गाउँ पुगेको र नजिकको लिबाङमा समेत डुलेको पाइएको जिल्ला प्रशासन कार्यलय रोल्पाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
तिनै हिड्डुल गरेको व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि गाउँ र बजारमा त्रास फैलिएको छ।
धबाङमा एकैदिन १२ र गुरुङ गाउँमा १ गरी १३ जनामा कोरोना संक्रमण देखिएपछि गाउँ सिल र बजार लकडाउन गर्ने जिल्ला कोभिड संकट व्यवस्थापनले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानामगरले जनाएका छन ।
जिल्ला प्रशासन कार्यालयले जरुरी सूचना सार्वजनिक गरेर गाउँ सिल गरिएको जनाएको छ। सिल गरिएको धबाङमा साना ठूला गरी करिव एक दर्जन गाउँ छन्। जिल्ला प्रशासन कार्यालयले जरुरी कामबाहेक घरबाट ननिस्कन र निस्कनै परेमा अनिवार्य मास्क प्रयोग गर्न भनेको छ।
सूचनामा साउन ४ गते बेलुका ६ बजेबाट नगरपालिकाको वडा नं। १, २, ३ र ४ का बजार क्षेत्रलाई लकडाउन गरिने उल्लेख छ। कोरोना संक्रमित रहेको दुवै गाउँ सदरमुकाम लिबाङ आसापासका हुन्। संक्रमित समुदायमा पुगेर भेटघाट गरिएका व्यक्तिको पनि स्वाब संकलन गरी पीसीआर जाँच गरिने भएको छ।
नगरपालिकाले आकस्मिक बैठक बसी गाउँ सिल गर्ने निर्णय गरेको छ। मजदुरीमा भारत पुगेर धबाङ गाउँ फर्किएका ४५ जनामध्ये २३ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो। २२ जनाको पीसीआर हुँदैछ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा जिल्लामा पछिल्लो समय लापरवाही देखिएको जनगुनासो सुनिन थालेको छ। कम मात्रामा परीक्षण भए पनि जिल्लामा हालसम्म ६६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये प्रायः सबै भारतबाट आएका छन्।