दिपेन्द्र थापा मगर
काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अब छिट्टै प्रधानमन्त्री हुने भविष्यवाणी गरेका छन् ।
आज शुक्रवार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत ‘रिङ आउट’ भइसकेकाले कांग्रेसको हातमा सत्ता जाने दाबी गरे ।
‘प्रतिनिधिसभा विघटन गरेर ओलीले अपराध गरे । अदालतको फैसलाले ओलीलाई अब रिङ आउट गर्छ । उनीजस्तो भष्मासुरलाई हुर्काउने प्रचण्ड–नेपाल समेत प्रधानमन्त्री पदका लागि लायक छैनन् । अब कांग्रेसको हातमा सत्ता जान्छ, देउवा प्रधानमन्त्री हुने अवस्था छ,’ भट्टराईले भने ।
नेकपा फुटेपछि जसपा चौथो दलमा पुग्ने पनि उनले बताएका थिए । चौथो दलले प्रधानमन्त्री दाबी गर्न नमिल्ने भट्टराईले बताए ।
प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास भट्टराईले व्यक्त गरे । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेर बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेका छन् ।