जाजरकोट ४ माघ : एक्काइसौं शताब्दी विज्ञान तथा प्रविधिको युग हो । देशको समुच्च: विकासमा प्राविधिक ज्ञान सीपको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसो त जीवन उपयोगी शिक्षाका रुपमा प्राविधिक शिक्षालाई लिने गरिन्छ । हाम्रो जस्तो अल्पविकसित देशमा प्राविधिक शिक्षाको खांँचो ज्वलन्त बन्दै गएको छ । प्राविधिक शिक्षा पूर्वाधार विकासको मेरुदण्ड मानिन्छ । यसले दक्ष जनशक्ति उत्पादन गर्दछ ।
राज्यले मूलप्रावाहीकरण गर्न नसकेका वर्ग, क्षेत्र र समुदायका लागि आर्थिक अवस्था तथा पहुँच लगायतका हिसाबले प्राविधिक शिक्षा प्राप्त गर्न त्यति सहज छैन । शिक्षण संस्थाहरुले पनि दक्ष जनशक्ति, पूर्वाधार विकास, स्रोत साधनको उपलब्धता विना प्राविधिक शिक्षा प्रदान गर्न अशंभव मानिएको छ । अझ भन्नुपर्दा न्यूनतम् मापदण्ड पूरा नगरी कुनैपनि शिक्षण संस्था संचालन हुन सक्दैनन् ।
तर, जाजरकोटको भेरी नगरपालिका–५ काफलचौर स्थित जाजरकोट बहुप्राविधक शिक्षालय भने भौतिक पूर्वाधार विना नै संचालन हुंँदै आएको छ । यहाँका विद्यार्थीहरु खुला आकाशमुनि पढाई गर्न वाध्य छन् । दक्षजनशक्ति उत्पादन गर्ने शिक्षालयका विद्याथीहरु दैनिक खुला चौरमा बसेर पढाई गर्छन् । भौतिक पूर्वाधारको अभावमा उक्त शिक्षालयका विद्यार्थीहरु खुला आकाशमुनि बसेर ज्ञान आर्जन गर्न वाध्य भएका हुन् ।शिक्षालयको भवन लगायत अन्य पूर्वाधार निर्माणमा सम्बन्धित निकायले वेवास्ता गर्दा नियमित पठनपाठन संचालनमा कठिनाई भएको हो ।
भवन नहुंँदा शिक्षालयले चौरमा कक्षा संचालन गर्दै आएको दृश्यले जोकोहीलाई भावुक बनाउँछ । प्राविधिक क्षिक्षालय आउँदाको जति खुसी पढाइ हुँदाको अवस्थाले दिन नसकेको स्थानीयको भनाई छ । “खुला आकाशमुनि सेतोपाटी बाँसको पोलमा झुण्ड्याएर शिक्षकले आफ्नो कक्षा संचालन गर्छन् । विद्यार्थीहरु चौरमा ओछ्याइएको कार्पेटमा बसेर सिकाई गर्छन । यो जस्तो मजाक अरु के हुन सक्छ ।” स्थानीय डिल्ली बुढाले भने, “बर्षात हुंँदा र चर्को घाम लाग्दा शिक्षालयको पढाई बन्द गर्नुको विकल्प छैन ।”
स्थानीयका अनुसार शिक्षालयको नाममा काफलचौरमा २२ रोपनी जग्गा शिवाय अन्य पूर्वाधार निर्माण भएको छैन् । उक्त शिक्षालयमा कुर्सी, बेन्च, दराज लगायत फर्निचर समेत छैनन् । अनिवार्य तर सामान्य: शौचालय र खानेपानीको उपलब्धता नै छैन । शिक्षक र विद्यार्थी दिसा, पिसाब गर्न जंगलतिर जान्छन् ।
शिक्षालय प्रमुख दानबहादुर ठकुरीका अनुसार शिक्षालयले ४ कोठे भाडाको कच्ची घरमा कार्यालय तथा आवास संचालन गरेको छ । गत पौषदेखि पठनपाठन संचालन गर्दै आएको यस शिक्षालयले डिप्लोमा वन विज्ञान, डिप्लोमा पशु विज्ञान र डिप्लोमा सिभील ईन्जिनियरीङ्गको पढाई संचालन गर्दै आएको छ । उनले प्रथम वर्षको वन विज्ञानमा ३७, सिभील ईन्जिनियरीङ्गमा ४८ र पशु विज्ञान तर्फ २९ जना विद्यार्थीहरुले अध्ययन गरीरहेको वताए ।
शिक्षालयको भौतिक पूर्वाधार निर्माणमा सरोकारवालाहरुले साथ नदिएको शिक्षालय प्रमुखको आरोप छ । पूर्ण सरकारी स्वामित्वको यस शिक्षालयको लागि पूर्वाधारको ब्यवस्थापन नहुनु विडम्बना भएको उनी वताउछन् । उनले भने, ‘शिक्षालयमा पठनपाठन संचालनका लागि पूर्वाधारको ब्यवस्थापन गर्न स्थानीय र प्रदेश सरकारले वेवास्ता गर्यो, ।’ स्तानीय नेतालाई इंगित गर्दै भने, “नेताहरुले परिषदबाट शिक्षालयको स्वीकृति ल्याउन जति जोड गरे त्यसरी स्वीकृति प्राप्त गरिसकेपछि शिक्षालय व्यवस्थापन गर्न सहयोग गरेनन्, ।” उनी भन्छन्, ‘भवन समेत नहुंँदा प्राविधिक शिक्षा जस्तो विषयमा कसरी पढाई गर्ने, न ल्याब, न फर्निचर छ ।’
शिक्षालय प्रमुख मात्रै हैन त्यहाँ पढ्ने विद्यार्थीहरुको गुनासो पनि उस्तै छ । खुला चौरमा पढ्दै आएका छात्र अमृत पुनले चर्को घाम र वर्षाद हुँदा पठनपाठनमा समस्या हुने गरेको बताए । उनले थपे ‘शौचालय र खाने पानीको समेत वयवस्था छैन् ।’
त्यस्तै छात्रा सरस्वती केसीले पनि चर्पी नहुंँदा खुला दिसा, पिसाब गर्न जंगल जानु पर्ने वाध्यता भएको बताएकी छिन् । ‘पिउने पानी समेत ३ किलोमिटर टाढाबाट बोकेर ल्याउनु परेको छ ।’ उनले भनिन्, ‘शिक्षालय संचालन भएको ठाउंँ नजिकै स्थानीयका घरहरु नहुंँदा डेराका लागि एक घण्टा हिडेर छिप्रेना जानु पर्ने वाध्यता छ ।’
शिक्षालयले मध्यमस्तरको दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले ३ वर्ष अघि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बारा संचालनको स्विकृती प्राप्त गरेको थियो ।