काठमाडाै ४ माघ : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु सरकारविरुद्ध आक्रामक रुपमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यसपटक आफूलाई लाठी खान मन लागेको बताउँदै सरकारविरुद्ध आक्रामक रुपमा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन ।
प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलनमा रहेको यो समूहका अध्यक्ष प्रचण्डले यही माघ ९ गते काठमाडौंमा हुने प्रदर्शनमा आफूहरु उत्साह र आवेगका साथ प्रस्तुत हुने बताएका छन्।
उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन। हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो। आक्रामक हुनुपर्यो। बाघ र सिंह गर्जिएजस्तो हुनुपर्यो। प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्यो’, प्रचण्डले थपे, ‘यस्तो बेला मलाई यो पटक लाठी खान मन छ। किनकिन मेरो टाउको चिलाको छ।’ तर तपाईंहरुको टाउको नफुटोस् भन्नेमा धेरै ध्यान छ।’
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति आफूभित्र आवेग, आक्रोश र घृणा रहेको भन्दै प्रचण्डले देश रोइरहेका बेला हास्दै हिँडेका प्रधानमन्त्रीमाथि जाइलाग्ने चेतावनी दिएका छन्। ७ दशक लामो संघर्ष र बलिदानबाट आएको लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि ओलीले निरंकुशताको बुट बजारेको र कमेडियनजस्तो हास्दै हिडेँको टिप्पणी पनि गरे।
आफूहरु राजतन्त्रविरुद्ध आन्दोलन गरिरहेका बेला केपी ओली रुँदै हिँडेका उनले टिप्पणीसमेत गरे। प्रधानमन्त्री ओली र ओलीका मानिसले अदालत र निर्वाचन आयोगले आफ्नै पक्षमा निर्णय गर्छ भन्दै हिँडेकोमा आपत्ति जनाउँदै प्रचण्डले सेटिङ मिलाइएको शंका पनि गरे। त्यसविरुद्ध पनि अब शाकाहारी आन्दोलन गरेर नहुने प्रचण्डको विश्लेषण छ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओली गुटमा लागेकाहरुलाई जोगीको संज्ञा दिँदै आफूले स्थायी कमिटी सदस्य बनाइदिएको र अहिले त्यही पदलाई मन्त्री पदसँग साटेको बताए।