भारी वर्षाको कारण उपत्यकाको अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित

वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति

१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्रवक्ता घोषले काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिवार करिब २०० मेगावाट मात्र रहेको बताए ।
बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरु प्रभावित भएका छन् ।
भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् ।
त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् ।
लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रीधारा फिडर बन्द छ ।
टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालिमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन् ।
नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्ेटनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् ।
प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति जतिसक्दो छिटो सुरु गर्न टोली खटिएको जानकारी दिए । तर, धेरै ठाउँ जलमग्न भएको र नदीको सतह बढेकाले लाइन चलाउन अप्ठ्यारो भइरहेको उनले बताए ।

सम्बन्धित खवर

Back to top button