काभ्रेमा प्रहरी र विप्लव समूहबीच गोलि हानाहान

काठमाडौं । काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ भएको छ । मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखा टेकुको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो ।
ललितपुरको नख्खुमा फागुन १० गते भएको बम विस्फोटको अनुसन्धानका क्रममा काभ्रे पुगेको अपराध महाशाखाको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो ।
अपराध महाशाखाका एसपी केदार ढकालका अनुसार मोबाइल टावरका आधारमा विप्लव कार्यकर्ता खोज्दै गएको प्रहरी टोलीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
विस्फोटमा संलग्न समूह काभ्रेमा रहेको देखिएपछि काठमाडौंबाट प्रहरी टोली काभ्रे पुगेको थियो । एसपी ढकालका अनुसार काभ्रेको रोशी गाउँपालिकामा गोली चलेको हो । घटनाको थप विवरण भने आउन सकेको छैन ।
सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका कार्यकर्तामाथि निगरानी बढाएको छ । फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको हो ।
यसैबीच
नेत्रविक्रम चन्द (विप्लव) समूहका चार जना कमाण्डरलाई पक्राउ गरेको प्रहरीले दावी गरेको छ । काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा विप्लव समूहसँग गोली हानाहान भएपछि सर्च अभियानको क्रममा चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

पक्राउ परेकाहरु विप्लव समूहका मध्यकमाण्डर रहेको प्रहरी उच्च स्रोतले बतायो । प्रहरीले पक्राउ परेकाहरुको परिचय गोप्य राखेको छ । उनीहरुलाई काठमाडौं ल्याइसकिएको छ । प्रहरीका अनुसार उनीहरु कोही पनि घाइते छैनन् ।

विप्लव समूहले माओवादी जनयुद्धमा जस्तै सिंगो नेपाललाई पूर्वी कमाण्ड, मध्य कमाण्ड र पश्चिम कमाण्ड भनेर बिभाजन गर्दै नेता(कार्यकर्ताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । काभ्रेबाट पक्राउ परेकाहरु मध्य कमाण्डका कमाण्डरहरु रहेको प्रहरीको दाबी छ ।
यो सँगै
नेपाल प्रहरीको विशेष ब्युरोले विभिन्न युनिटको सहयोगमा १७ जनालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार पक्राउ पर्नेमध्ये अधिकांशलाई हाल काठमाडौं प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । ती अधिकारीका अनुसार पक्राउ पर्ने सबैभन्दा उच्च तहका नेता विप्लव समूहका पोलिब्युरो सदस्य जीवन्त भनिने मोहन कार्की छन् ।

पक्राउ पर्ने अन्यमा विप्लव समूहको जनवर्गीय संगठन किसान महासंघका अध्यक्ष राजु कार्की, विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेल, नेता जयराम दंगाल, केदार खतिवडा, अर्जुन केसी र अर्जुन गोतामे छन् ।

त्यस्तै, रविन केसी, वीरेन्द्र नेपाली, विपीन लामा, नविन विष्ट, विमला भण्डारी, गौरी धामी, रुकमिणी पुडासैनी, उषा भुजेल, रामकुमार अधिकारी र ज्ञानेन्द्र बुढाथोकी छन् ।

पक्राउ परेका मध्ये विप्लवका पूर्वअंगरक्षक भुजेलको ११ फागुनमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी नख्खुस्थित एनसेल मुख्यालयमा भएको शक्तिशाली विस्फोटमा प्रत्यक्ष संलग्नता रहेको देखिएको थियो । उनकै योजनामा ६ जना घटनास्थल पुगेर विष्फोटलाई कार्यान्वयनमा ल्याइएको अनुसन्धान अधिकारीहरुको निष्कर्ष थियो ।

उनीवरुद्ध प्रहरीले फौजदारी संहितामा रहेको व्यवस्था अनुरुप बम विस्फोट, हातहतियार तथा खरखजना र ज्यान मुद्दा चलाइएको छ । प्रहरीका अनुसार एनसेलमा विष्फोट गराइएकै दिन कमलपोखरीस्थित आँगन रेस्टुरेन्टमा भेटिएको बमबारे अनुसन्धान गर्ने क्रममा किसान महासंघका कार्कीको संलग्नता देखिएको थियो ।

कार्कीले रेस्टुरेन्टका सञ्चालकलाई केही दिनअघिदेखि धम्की दिँदै आएको खुलेपछि कार्की अनुसन्धानका दायरामा तानिएका थिए । भुजेललाई प्रहरी परिसर, ललितपुरमा राखिएको छ ।

सम्बन्धित खवर

Back to top button