देउवा-दाहाल सम्बन्धविच्छेद : धोकाधडी कि बाध्यता ?

धोकाधडी कि बाध्यता ?

काठमाडौँ —एमाले अध्यक्ष केपी ओलीसँग आइतबार बिहान भेटिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमै कांग्रेस सभापति शेरबहादुर देउवालाई भने, ‘मलाई एमालेसँगको गठबन्धनमा जाने दबाब छ ।’ शक्तिका खेलाडी देउवाले नबुझ्ने कुरै भएन ।

देउवा-दाहाल सम्बन्धविच्छेद : धोकाधडी कि बाध्यता ?
‘माओवादीका लागि गठबन्धन, मन्त्री हेरफेरका कुराहरू सामान्य थिए । राजनीतिक विषयमा कांग्रेसले राखेका धारणाहरूसँग हाम्रो बेमेल हो ।’ – माओवादी महासचिव देव गुरुङ
‘गठबन्धन छाड्दा माओवादीले जे–जे तर्क अघि सारेको छ, ती बहानाबाजी हुन् । गठबन्धन तोड्ने योजना केही समय अघिदेखि नै भएको हो । ’ – कांग्रेस सहमहामन्त्री जीवन परियार
गठबन्धन भत्किने मनस्थिति बोकेर बालुवाटारबाट निस्केका देउवाले निवास पुगेपछि आफूनिकटहरूसँग दाहालको कुरा सुनाए । अन्तिम घडीमा गठबन्धन जोगाउन सकिन्छ कि भनेर देउवाले सबै अस्त्र प्रयोग पनि गरें । देउवानिकट स्रोतका अनुसार उनले अन्तिम घडीमा दाहाललाई फकाउन राष्ट्रिय सभाको अध्यक्ष छाड्ने पहिलो सन्देश पठाए । त्यसबाट सकारात्मक प्रतिक्रिया नआएपछि गृह र अर्थ मन्त्रालयसमेत दिने अर्को सन्देश पनि सुनाए । तर, कोल्टे फेरिसकेका दाहालले कांग्रेससँगको सहयकार्यप्रति मोह बढाएनन् ।

कांग्रेसका एक नेताका अनुसार कुनै पनि गठबन्धन भत्किने र बन्ने कार्यमा घरेलु शक्तिको भन्दा बढी प्रभाव छिमेकी मुलुकहरूबाट हुने गतिविधिले पार्छ । ‘अहिले ठीक त्यस्तै भएको हाम्रो बुझाइ छ,’ ती नेताले भने,‘त्यसमा प्रचण्डलाई कोल्टे फेर्ने वातवरणमा सहयोग पुर्‍याउने काम हामीले पनि गर्‍यौं , योभन्दा पनि छिमेकी शक्तिको प्रभावले काम गर्‍यो भन्ने हामीलाई लागेको छ ।’

Advertisement

१४ महिनाअघि देउवाले प्रधानमन्त्री नछाड्दा दाहाल एमालेको सहयोगमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला देउवाले दक्षिण छिमेकीको आडमा प्रधानमन्त्रीको दाबी नछाडेको भनेर व्याख्या गर्ने कांग्रेस नेताहरू यसपटक उत्तरी छिमेकीले कम्युनिस्ट पार्टीहरूलाई एक बनाउने उद्देश्यसाथ सत्ता समीकरणमा जोडेको बताउने गर्छन् ।

१४ महिनाको बीचमा प्रधानमन्त्री दाहाललाई एमालेको कित्तामा पुर्‍याउने काम धेरै हदमा कांग्रेसकै भूमिकाले काम गरेको बुझाइ कतिपय नेताहरूमा छ । ‘एमालेसँग सरकार सञ्चालन गर्न असहज महसुस गरेरै प्रचण्डले त्यहाँबाट डिपार्चर लिएका थिए । हामीले त्यस कुरालाई बुझेनौँ,’ सरकारमै रहेका एक मन्त्रीले भने,‘सुरुदेखि नै प्रचण्डको गुनासो अर्थमन्त्रीसँग रहँदै आयो । सैद्धान्तिक रूपमा अर्थमन्त्री खर्च र दायित्व घटाउने नीतिमा अडिग देखिए, प्रधानमन्त्री त्यसविपरीत शिथिल भएको अर्थमन्त्रालयलाई चलायमान बनाउने खोज्नुभयो । त्यसमा अर्थमन्त्रीसँग र्‍याङठ्याङ मिलेन । कांग्रेसबाहेकका सबै मन्त्रीले अर्थ मन्त्रालयसँगको गुनासो प्रधानमन्त्रीमा लगेर ठोके । त्यसपछि प्रधानमन्त्रीले अर्थमन्त्री बदलिदिन कांग्रेस सभापतिलाई पटक–पटक आग्रह गर्नुभएको थियो । त्यसमा पार्टी सभापतिले नमानेपछि प्रमुख समस्या त्यहीँ बिन्दुबाट सुरु भयो ।’

राजनीतिक रूपमा कोशी प्रकरण अर्को कारण थियो । कोशीमा कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन माओवादीले सभामुख पद त्यागेको थियो । थापा नेतृत्वको सरकारलाई कोशी प्रदेशमा विद्यमान समीकरणले साथ दिएन । त्यसपछि गठबन्धनको निर्णयबाटै माओवादीले मुख्यमन्त्री बनाउन प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका लागि अघि सार्‍यो । तर, नेता शेखर कोइरालाकै सहयोगमा पार्टीमा विद्रोहको सुरुवात भयो ।

कोइराला समर्थक ८ जना सांसदले विद्रोह गरेपछि एमालेको समर्थनमा शेखर निकट नेता केदार कार्की मुख्यमन्त्री बने । कोशीमा देखा परेको विद्रोहको संकेत कुनै पनि बेला संघमा दोहोरिन सक्छ भन्नेमा दाहाललाई झस्काइरहेको थियो । माओवादीका एक नेताका अनुसार कांग्रेसबाट शेखर पक्ष निरन्तर एमालेसँगकै सहकार्यको पक्षमा थिए । कांग्रेसको संसदीय दलको अंकगणित तलमाथि हुनसाथ कांग्रेस र एमाले मिल्न सक्ने बुझाइ माओवादीलाई परेको थियो । यही बुझेर देउवाले दाहाललाई आशंका उठ्ने कुनै पनि गतिविधि गर्न रोक्दै आएका थिए । पार्टीभित्र ‘मैले चाहेको मात्रै हुन्छ’ भन्ने सन्देश उनले दुईवटा केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेरै दिएका थिए ।
जनताको राय

सम्बन्धित खवर

Back to top button