ओली र प्रचण्डबीच कर्णालीको विषयमा मतभेद
कर्णालीमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीच जबरजस्त दाबी
काठमाडौँ। प्रदेश सरकारको नेतृत्वबारे सत्ता गठबन्धनभित्र छलफल जारी रहेको छ। सत्ता गठबन्धनका नेताहरू केहीदिन देखि प्रदेश सरकारको भागबण्डाका विषयमा निरन्तर छलफलमा जुटेका हुन् ।
गठबन्धनको छलफलका क्रममा प्रदेश सरकारको नेतृत्वबारे कर्णालीबाहेक अन्य सबै प्रदेशमा मोटामोटी भागबण्डा टुङ्गिएको नेताहरूको भनाइ छ। तर कर्णालीमा भने नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीचमा जबरजस्त दाबी देखिएपनि निष्कर्ष निस्किन सकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्रकै नेताहरूले कर्णालीको नेतृत्व नछाड्न दबाब दिएका छन्। पार्टीको सबैभन्दा राम्रो जनाधार भएका क्षेत्र भएकाले पार्टीले कर्णाली छाड्न नहुने सो क्षेत्रका नेताहरूकाे भनाइ छ।
तर, एमालेले पनि आफ्नो दाबी गर्दै आएको सन्दर्भमा सहमति जुटाउन सकस परेको बताइएको छ। एमालेले यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन चाहेको छ भने माओवादीका केही नेताहरूले वर्तमान सरकारलाई नै निरन्तरता दिन चाहेका छन्।
पार्टीभित्रको यही दबाबका बिच मंगलबार बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता भएको छ। भेटमा कर्णालीको विषयमा छलफल भएपनि ठोस सहमति जुट्न नसकेको बालुवाटार स्रोतको भनाइ छ। यही विषयमा गठबन्धनभित्र थप छलफल गरेर निर्णयमा पुग्नेगरी मंगलबारको बैठक सकिएको छ।
यस्तै बुधबार माओवादीले सचिवालयको बैठक बोलाएको छ। सो बैठकमा कर्णालीको विषयका साथै विविध विषयमा छलफल हुने एक नेताले बताए।
कर्णाली सरकारबारे मंगलबार कर्णालीका इन्चार्ज कालिबहादुर मल्लले प्रचण्डलाई पार्टीलाई ध्यानाकर्षण गराउन चाहेपनि उनलाई प्रचण्डले भेट नदिएको एक नेताले बताए। तर, यो विषयमा बुधबारको बैठकमा कुरा उठ्ने ती नेताको भनाइ छ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कर्णालीमा पार्टीको नेतृत्व स्वाभाविक भएको बताए।
‘माओवादीको दशैभर जनाधार भएको क्षेत्र कर्णाली हो। त्यहाँ अध्यक्षले अन्य पार्टीलाई छाड्नुहुन्न भन्ने विश्वास छ’, उनले भने।
सत्ता गठबन्धनमा सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई नेतृत्व दिएर कोशी, लुम्बिनी र गण्डकी एमालेले लिने गरी छलफल भएको छ। यस्तै मधेस प्रदेशमा जसपाको नेतृत्वमा सहमति जुटेपनि कर्णालीको हकमा भने विवाद देखिएका हो। यो विषयमा माओवादीको आन्तरिक बैठकपछि थप छलफल गरेर टुङ्गोमा पुगिने बताइएको छ।