कर्णालीमा एसईई परीक्षाको तयारी पूरा
यसपटक कर्णालीमा ३५ हजार ८०८ विद्यार्थी सहभागी हुँदै
सुर्खेत। कर्णाली प्रदेशमा बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ। कर्णालीबाट यो वर्ष ३५ हजार ८०८ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताएकी छिन।
प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसईईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार ६२३ छात्र र १८ हजार १५८ छात्रा छन्। परीक्षाका लागि प्रदेशभर १८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
जिल्लागत विवरण अनुसार सबैभन्दा धेरै सुर्खेतबाट ८ हजार ३४८ जना विद्यार्थीले एसईई दिँदैछन्। यहाँ ३३ वटा परीक्षा केन्द्र तोकिएको छ। रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र छन् भने ३ हजार ५९३ जना परीक्षार्थी छन्। ४ हजार ५८२ परीक्षार्थी रहेको सल्यानमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ।
विशेषगरी हिमाली जिल्लामा विद्यार्थीको संख्या निकै न्यून देखिन्छ। सबैभन्दा कम डोल्पामा जम्मा ७३३ जना विद्यार्थीले एसईई दिँदैछन्। यहाँ चार वटामात्रै परीक्षा केन्द्र तोकिएको छ।
हुम्लामा ६ वटा परीक्षा केन्द्र छन् भने परीक्षार्थी एक हजार १९५ छन्। मुगुमा ८ वटा परीक्षा केन्द्र र १ हजार ११३ परीक्षार्थी छन्। यस्तै २४ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा ३ हजार ७३६ जना परीक्षार्थी छन्। जुम्लामा २ हजार ५५७ परीक्षार्थीका लागि १६ परीक्षा केन्द्र तोकिएको छ। जाजरकोटमा २२ परीक्षा केन्द्रमा ४ हजार ६९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्रमा ५ हजार २५७ परीक्षार्थीले एसईई दिँदैछन्।
कर्णालीमा परीक्षार्थीको सङ्ख्या घट्दै
कर्णालीमा हरेक वर्ष एसईई दिने परीक्षार्थीको सङ्ख्या घट्दै गइरहेको छ। गत वर्ष कर्णालीबाट ३८ हजार ९७० जना विद्यार्थी एसईईमा सहभागी बनेका थिए। गत वर्षको तुलनामा यो वर्ष ३ हजार १६२ जना विद्यार्थी घटेको देखिन्छ।
प्रायः सबैजसो जिल्लाहरुमा विद्यार्थीहरुको संख्या गत बर्षको भन्दा घटेको देखिन्छ। गत वर्ष हुम्लामा १ हजार २३४ विद्यार्थीले एसईई परीक्षा दिएका थिए भने मुगुमा १ हजार ६६६ र डोल्पामा ६९८ जना परीक्षार्थी थिए। शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी लोकप्रसाद पौड्याल विद्यार्थी हरेक वर्ष घट्नुमा विविध कारण रहेको बताउँछन्।
भौगोलिक, आर्थिक कारणहरुले पनि विद्यार्थीहरु बिचैमा स्कुल छाड्ने गर्दछन् भने सम्पन्न तथा जागिरे आमाबुबाहरू सरकारी विद्यालयभन्दा निजीतिर आकर्षित हुनाले पनि सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको सरोकारवाला बताउँछन्।