पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

भाद्र,१, काठमाडौं:- विश्वकर्मा’ अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् ‘बनाउने मान्छे ।’ जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य एक मानिन्छ । वेद उपनिषदका अनुसार उनको अस्तित्व देवासुर संग्राम भन्दा अगाडि देखिनै उल्लेख छ । उनी देवताहरुका एक महान वैज्ञानिक थिए । समग्र तेत्तीस कोटी देवताहरुलाई आवश्यक सम्पुर्ण अश्त्र-सश्त्र तथा भौतिक साधनहरुको आविष्कार गर्दथे । भनिन्छ उनको निम्ति कुनैपनि आविष्कार र सृजना असम्भव थिएन । त्यसैले उनको श्रेणी ब्रह्माको तहमा छ ।

तर वैद्धिक समाज भ्रष्ट हुँदै आएपछि बनाउने मानिसलाई अछुतको दर्जामा राखे । जसले सृजना गर्दछ उसलाई निकृष्ट स्तरमा राखेर परिभाषित गरे । जसले श्रम गर्दछ र पसिना बगाउँदछ उसलाई दासत्वको बलियो फन्दामा जकडे र आफू शासक बने । त्यसैको परिणाम हो महाभारत कालमा एक रथ बनाउनेको छोराको मुखमा पगालेको सुन हालेर मार्नु अनि एक आविष्कारकको हात काटिनु र एक आविष्कारकका छोराले क्षत्रीयहरुको समाजमा आफ्नो प्रतिभाको जगेर्ना गर्न जन्मदेखि मृत्युसम्म संघर्ष गरेर अन्तमा कृष्णद्वारा महान सर्वश्रेष्ठ धनुर्धरको उपाधी पाउनु । यो एक प्रतिनिधि पात्र र प्रतिनिधि घटना हो जसलाई शास्त्रले निसंकोच वर्णन गरे । यति भनुञ्जेल साहेद ज्ञात भयो होला तपाईंलाई कि मैले कसको प्रसंग उठान गरेको छु ।

तत्पश्चात पनि विश्वकर्माको प्रयोग अनेक ठाउँमा गरियो । जबकी समाजका बहुसंख्यक सृजनात्मक हातहरु उपेक्षित थिए र सृजनात्मक मस्तिष्कहरु ब्राह्मणवाद र क्षत्रीयत्वको निर्मम पाउ मुनि कुल्चिएका थिए । तर त्यही निर्मम समाजले ती देव विश्वकर्माको स्मरण गर्न भने छोडेन । उनलाई वर्षमा एकदिन भएपनी सम्झियो । यसकारण कि उनको कलाको विना मूल्य उपयोग गर्न सकोस् । उनको श्रम र सिपको शोषण गर्न सकोस् ।

हामी पुरातन समाजलाई दृष्टिगत गर्न छोडेर वर्तमान सभ्य समाजलाईनै हेरौं त । के आजपनि यहाँका कोहि सृजना गर्ने मानिसहरुको सृजनाको मूल्य चुकाइएको छ ? के आजपनि श्रम गर्नेहरुको सम्मान गरिएको छ ? अहँ कदापि छैन र यो समाजले त्यो गर्न पनि सक्दैन । बरु सरकारले संविधानमा नाममात्रका अधिकारको उल्लेख गरेर आँखामा धुलो भरिदिने काम गरेको छ । समावेशीकरणको अवधारणा ल्याएर ती उपेक्षित समुदायको आँखामा भ्रमको रंग भरिदिएको छ तर यथार्थ सम्मान उनीहरुले कहिले पाए ? ती ब्राह्मण क्षत्रीयहरुको अघि समान ढंगले प्रस्तुत हुन कहिले पाए ? अनि ती धार्मिकता र श्रेष्ठताको मुखुण्डो लाएका पाखण्डहरुको अघि कहिले आफूलाई ईश्वरको सन्तानको रुपमा प्रस्तुत गर्न पाए ? अहँ कहिल्यै पाएनन् र सम्भवत: पाउनेपनी छैनन् ।

श्रम, सीप र सृजनाका खानी आजका विश्वकर्मा तिनै भगवान् विश्वकर्माका सन्तति हुन । तर यिनीहरूको पुजा कहिले गरिन्छ ? हुनत यो अहंकारी समाजले गर्थ्यो पनि कहिले र ? उनी विश्वकर्मालाई सम्मानको नाउँमा एक दिन स्मरण गर्‍यो त्यो पनि आफ्नो जीविका उत्तानो नलागोस् भनेर । किनकी उनलाई नरिझाए उनको सीप र सृजनाको उपयोग कहाँ गर्न पाइनु । आजपनि यो समाज त्यही गरिरहेको छ । आजको समाज अझै भ्रष्ट भएको छ । किनकी उहिले एक विश्वकर्मा थिए र उनैको पुजा सहि थियो तर आज उनको पुजा होइन बरु उनको पुजा गरिनुपर्छ जो समाजमा ज्युदा छन ।

आज बहुसंख्यक विश्वकर्मा बंसज आफ्नो जीवनलाई असम्मानको अग्निमा नरकिय पीडा खेप्छन तर यो पाखण्ड समाज आज भाँडाकुँडाको पुजा गरिरहेको छ । समाज यतिसम्म पतित भैसकेको छ कि सर्जकको पुजा गर्न छोडेर सृजनाको पुजा गरिरहेको छ । हातहरुको पुजा गर्न छोडेर आविष्कारको पुजा गरिरहेको छ । यो समाजले भगवानलाई बिर्सियो र उनको देनलाई पुजीरहेको छ । क्या गज्जब छ मेरो समाजको नियत ! जो निर्मातालाई कुल्चिएर निर्जीव निर्मितको देहमा पुल सुगन्ध चढाउँछ । आखिर यस्तो कहिलेसम्म ? कहिलेसम्म उपेक्षा र अपमानको अग्निमा जल्ने सर्जक समुदाय ? कहिलेसम्म अछुतको उपमा भिरिरहने उनीहरुले जो सम्मानका हकदार हुन । त्यसैले आँखा हुनेहरूले देखोस् र मस्तिष्क हुनेले बुझोस् यो कुरा अनि छोडोस् भाँडाको पुजा गर्न र थालोस् बनाउने हातहरुलाई सम्मान गर्न ।

#जय_विश्वकर्मा_बाबा

सम्बन्धित खवर

Back to top button