श्रीलंकालाई ४–० ले हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश
श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार विराटनगरस्थित सहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा घरेलु टोलीलाई जिताउन पुनम जर्घामगर, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा भुसालले समान १–१ गोल गरे ।
पहिलो हाफसम्म १–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै उपाधि यात्रा तय गरेको हो ।
पहिलो हाफको अन्त्यतिर पुनम जर्घामगरले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएकी थिइन् । निरू थापाले दिएको एक्रोब्याटिक पासमा सावित्रा भण्डारीको हेडरले पोस्टको दिशा लिन नसक्दा कसैको निगरानीमा नरहेकी पुनमले सुन्दर गोल गरेकी हुन् ।
खेलको ७३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारिन् । विपक्षी गोलकपिरबाट रिबाउन्ड बलमा अनिताले गोल गर्दै नेपालको अग्रता २–० मा र्पुयाइन् ।
खेलको ८२ औं मिनेटमा सावित्रा भण्डारीले अनिताको क्रस पासमा तेस्रो गोल गरिन् । उनी जारी प्रतियोगितामा तीन गोल गर्ने पहिलो खेलाडीसमेत बनिन् ।
खेल सकिन ४ मिनेट बाँकी हुँदा रेखा पौडेलले टोलीका लागि चौथो गोल गरिन् । अनिताले दिएको पासमा रेखाले गोल गरेकी थिइन् ।
अब नेपालले फाइनलमा भारत र बंगलादेशबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।