एसईई परीक्षा आजबाट, सांसद देखि नायिकासम्म परिक्षा दिदै

काठमाडौं । माध्यमिक शिक्षा (एसईई) को परीक्षा आइतबारबाट सुरू भएको छ । परीक्षामा देशभरका ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भइरहेका छन् ।
यस वर्षको परीक्षामा केही सेलिब्रेटी पनि सहभागी छन् । राजनीतिज्ञदेखि कलाकारितामा छुट्टै पहिचान बनाएका व्यक्ति पनि सामेल भएकाले धेरैको चासो यस वर्षको परीक्षामा छ । त्यस्तै शारीरिक असक्तताका कारण लेख्न नसक्नेहरूले सहयोगीको साहरामा परीक्षा दिइरहेका छन् ।


कमलरी हुँदै मूलधारको राजनीतिमा छुट्टै छवी बनाउन सफल शान्ता चौधरी दाङबाट परीक्षामा सहभागी भएकी छन् । पारिवारिक तथा सामाजिक कारणले अध्ययनबाट वञ्चित चौधरी महेन्द्र मावि, तुलसीपुरमा सञ्चालित खुला विद्यालयको परीक्षार्थी हुन् ।


संयोग कस्तो भने उनकै छोरी पनि यसै वर्ष परीक्षामा सामेल भइरहेकी छन् । तर, उनी भने काठमाडौंबाट परीक्षा दिइरहेकी छन् । उनको परीक्षा केन्द्र बाल सिर्जनालय बोर्डिङ स्कुल, बसुन्धरामा परेको छ ।
करिश्मा मानन्धर चर्चित नायिका हुन् । पछिल्लो समय उनको परिचयमा राजनीतिज्ञको पहिचान पनि थपिएको छ । उनीपनि यसपटक ‘एसईई’ परिक्षा दिदैछिन् । त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतिदेवीमा अध्ययन गरेकी उनी विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार केन्द्रबाट अहिले परीक्षा दिइरहेकी छन् ।


यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी भएकोमा दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन् ।

सम्बन्धित खवर

Back to top button