मुम्बई । कंगना रनावत बलिउडमा सबभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छन् । कंगनाले आफ्नो आगामी फिल्मका लागि २४ करोड भारू पारिश्रमिक लिँदै सबभन्दा धेरै पारिश्रमिक पाउने अभिनेत्री बन्न सफल भएकी हुन् ।
कंगनाको नयाँ फिल्म दक्षिण भारतीय अभिनेत्री समेत रहेकी नेता जय ललिताको जीवनीमा आधारित छ। फिल्म हिन्दी र तमिल दुवै भाषामा बन्नेछ । हिन्दीमा फिल्मको नाम ’जया’ र तमिलमा ’थलैवी’ हुनेछ ।
सामान्यतया कुनै हिन्दी फिल्म दक्षिण भारतीय भाषामा समेत बन्दा फिल्ममा दक्षिण भारतका चर्चित कलाकारको पनि मुख्य भूमिका राखिन्छ । तर दक्षिण भारतकै ’अम्मा’ जय ललितामाथि बन्ने यो फिल्म कंगना एक्लैले सम्हाल्नेछिन्। ’मणिकर्णिका’ भएर आफ्नो नायकी देखाउन सफल कंगनाको स्टारडमले फिल्म दुवै भाषाका दर्शकबीच लोकप्रिय हुनेमा निर्माताहरूको विश्वास छ ।
कंगनाले यो फिल्मबारे आफ्नो ३२ औं जन्मदिनको अवसरमा जानकारी गराएकी थिइन् । उनले फिल्मबारे भनेकी थिइन्, ‘यो शताब्दीकै सफल महिलामध्ये जयललिताजी एक हुनुहुन्छ । उहाँ सुपरस्टार हुनुभयो। लोकप्रिय राजनीतिज्ञ हुनुभयो । उहाँको जीवनीमा फिल्म बन्नू महान् कुरा हो । म यो फिल्मको हिस्सा हुन पाउँदा निकै सम्मानित महशुस गर्छु ।’
’बाहुबली’ र कंगनाकै पछिल्लो सफल फिल्म ’मणिकर्णिका’ का लेखक केभी विजयेन्द्र प्रसादले लेखेका फिल्म एएल विजयको निर्देशनमा बन्नेछ ।
कंगनाले यसअघि नै आफ्नै बायोपिक पनि बनाउने बताइसकेकी छन् । आफ्नो जीवनका पाटाहरू समेटेर बनाउने फिल्म उनी आफैंले निर्देशन गर्ने भनेकी छन् । उनको यो प्रयास हेर्न बाँकी नै छ। तर पछिल्लो समय बलिउडमा बायोपिक बन्ने लहर छ । सन् २०१८ र १९ मै थुप्रै राजनीतिज्ञ, साहित्यकार, कलाकार लगायत व्यक्तिका बायोपिक बने ।
यसमा अभिनेता सञ्जय दत्तको बायोपिक ’सञ्जु’, राजनीतिज्ञ बाल ठाकरेको ’ठाकरे’, प्याडमान, मणिकर्णिका, मन्टो जस्ता बायोपिकले राम्रो व्यापार र प्रतिक्रिया पनि पाए ।