अख्तियारका पूर्व आयुक्त पाठक विरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगको मंगलबारको बैठकले पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गर्ने निर्णय गरेसँगै मंगलबार नै मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।
नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता लुकाउनका लागि कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको सार्वजनिक भएसँगै पाठकले आयुक्त पदबाट राजिनामा दिएका थिए । पाठकले राजिनामा दिएसँगै उनी विरुद्ध अख्तियारले छानबिन सुरु गरेको थियो ।
उक्त मुद्दामा घुस दिएको आरोपमा नेपाल इन्जिनिरयरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई पनि विपक्षी बनाइएको छ । तर अख्तियारले घुस डिल गरेका पूर्वाञ्चल विश्वविद्यालयका विज्ञान संकायका डीन एवं राजनारायणका भाइ शुभनारायणबारे भने कुनै निर्णय नगरेको स्रोतले जानकारी दिएको छ । अख्तियारले अनुसन्धानको क्रममा बयान लिएर छाडेका न्यौपाने भने फरार छन् ।


