सत्तासीन दलका नेताकार्यकर्तालाई चेतावनी दिदै यस्तो आयो विप्लवको विज्ञप्ति


गोरखा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गोरखाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गराउन नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला नेता कार्यकर्ताले प्रहरी प्रशासनमा दबाब दिने गरेकोप्रति गम्भिर ध्यानाकर्षण गर्दै चेतावनीपूर्ण विज्ञप्ति निकालेको छ ।
उक्त पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै १० वर्षे जनयुद्धका बेला तत्कालीन नेकपा एमालेले झैं आफ्ना नेता कार्यकर्ता पक्राउ गराउने र पार्टीको सदस्यता लिने सर्तमा रिहा गराउने काम सरकारको नेतृत्व गरेको नेकपाले गरेको भन्दै चेतावनीपूर्ण विज्ञप्ति निकालेको हो ।



‘हाम्रा पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकको घर खान्तलासी गर्ने, परिवारलाई त्रासमा राख्ने, सरकारका पार्टीका नेता कार्यकर्ताले सुराक र सूचना गरी गिरफ्तार गर्न प्रशासनलाई दबाव दिने गरेका छन्’, जिल्ला इञ्चार्ज गोविन्द र जिल्ला सेक्रेटरी प्रतीकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘र अन्त्यमा जनयुद्ध कालमा एमाले पार्टीले झै गरी आफ्नो पार्टी प्रवेशको सर्तमा प्रशासनको ढोकामा साक्षी बस्ने जस्ता नाङ्गो कदम गोरखामा केही दिनदेखि देखिएको छ ।’

सरकार नेतृत्वको पार्टीको यस्तो कदमको प्रतिवाद गर्न सो विज्ञप्तिमा आफ्ना पार्टीपंक्तिलाई आग्रह गरिएको छ ।
विप्लव नेतृत्वको पार्टीका युवा संगठनका जिल्ला संयोजक भोला भुजेलसहित पार्टीका जिल्ला समितिका तीनजनालाई केहीदिनअघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक समारोहका बीच पार्टी प्रवेश गराएका थिए ।
त्यस्तै एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरी सार्वजनिक हित विरुद्धको मुद्धा खेपिरहेका दीपक बोहोरालाई पार्टीमा निष्कृय रहेको भन्दै प्रहरीले रिहा गरेको थियो ।








