लगानी सम्मेलनपछि मुलुक समृद्धिको मार्गचित्र कारिनेः अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आसन्न लगानी सम्मेलनले मुलुकको समृद्धिको मार्गचित्र कोर्ने बताउनु भयो । सम्मेलनबाट विभिन्न क्षेत्रमा लगानी आउने र त्यसले समृद्धिको मार्गचित्र कोर्ने उहाँले बताउनु भयो ।
‘यो सरकार र निजी क्षेत्रको साझा प्रयास हो, उत्सव हो’ उहाँले भन्नुभयो, ‘यसले नेपाललाई विश्वमा चिनाउनेछ, नेपालमा भएका अवसरबारे जानकारी दिनेछ र सरकार–निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच नेटवर्किङ बढाउनेछ ।’ दुईदिने सम्मेलनमा नेपाल सरकारका तर्फबाट लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारबारे प्रस्तुति दिने, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरूले अनुभव सुनाउने लगायतका सातवटा विषयगत सत्रहरू रहेका छन् ।



लगानी सम्मेलनमा ७७ वटा परियोजना प्रस्तुत गरिने
सरकारले आगामी शुक्रबारदेखि सुरु हुने लगानी सम्मेलनमा ७७ वटा परियोजना प्रस्तुत गर्ने भएको छ । विदेशी लगानी आह्वान गर्न ५० वटा सार्वजनिक तथा २७ वटा निजी क्षेत्रका परियोजनालाई सम्मेलनमा सोकेसका रूपमा अघि सारिएको हो ।
कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रका परियोजनामा लगानी आह्वान गरिने अर्थमन्त्री तथा नेपाल लगानी सम्मेलन निर्देशन समितिका संयोजक डा. युवराज खतिवडाले जानकारी दिनुभयो । लगानी सम्मेलनको तयारीका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपालमा रहेका सम्भावनालाई सोकेस परियोजनाका रूपमा अघि सारिएको बताउनु भयो ।
अघि बढाइएका ७७ परियोजनामध्ये एक दर्जन परियोजनमा लगानीका लागि समझदारी तथा सम्झौता हुने उहाँले जानकारी दिनुभयो । ‘सोकेसिङका लागि पनि सम्मेलन आयोजना गरिएको हो, जहाँ सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ परियोजना हुनेछन्,’ उहाँले भन्नुभयो, ‘यसमध्ये १२ वटामा समझदारी तथा सम्झौता हुनेछ ।’
अर्थमन्त्री खतिवडाले कुन–कुन परियोजनामा सम्झौता गर्नेबारेमा भने खुलाउन चहानुभएन । उहाँले ०७३ को लगानी सम्मेलनको जगमा उभिएर सरकारले अहिले लगानी सम्मेलन गर्न लागेको बताउनु भयो । विगतको सम्मेलनको लाभ लिएर अझ सुदृढ गर्दै यो सम्मेलन गर्न थालिएको उहाँको भनाइ रहेको छ ।
२ महिनाभित्रै सम्झौता गरिसक्ने
सम्मेलनमा प्रस्तुत गरिने ७७ परियोजनामा लगानी गर्न चाहने लगानीकर्तासँग २ महिनाभित्रै सम्झौता गरिसक्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
‘हामीले वेबसाइटमा परियोजना राखेका छौँ, त्यहीँबाट पनि लगानीका लागि आशय आउन थालेको छ, सम्मेलनपछि पनि आशयका लागि २० दिन समय दिइनेछ,’ उहाँले भन्नुभयो, ‘सम्मेलनमा आउने आशय तथा प्रतिबद्धतालाई २ महिनाभित्र कार्यान्वयनमा ल्याइनेछ ।’
लगानी सम्मेलन गर्न ३ करोडभन्दा बढी लागत हुने
आसन्न लगानी सम्मेलनको लागत ३ करोड रुपैयाँभन्दा बढी हुने भएको छ । चैत १५ र १६ गते हुने लगानी सम्मेलनलाई २ करोड ९८ लाख रुपैयाँ छुट्याइएको थियो । तर, छुट्याइएको रकम अपुग भएको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताउनु भयो ।
परियोजनाको सोकेस निर्माण, छपाइ, प्रचार–प्रसार, आउटसोर्सिङलगायत कार्यमा बजेट खर्च भएको हो । बोर्डले सार्वजनिक क्षेत्रका ५० परियोजनाको सोकेस तयार पारेको छ । एउटा परियोजना तयार गर्न ४÷५ जना जनशक्तिको प्रयोग भएको उहाँले बताउनु भयो ।
निजी क्षेत्र उत्साही
लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपालको निजी क्षेत्र उत्साही देखिएको छ । लगानी सम्मेलनलाई लक्षित गरी कानुनी तथा नीतिगत सुधार भएको भन्दै निजी क्षेत्र उत्साही भएको हो । आसन्न लगानी सम्मेलन नेपालका लागि सुवर्ण अवसर भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताउनु भयो ।
लगानी सम्मेलनले निजी क्षेत्रमा उत्साह थपेको उहाँले सुनाउनु भयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले ४० देशका लगानीकर्ता नेपालमा जम्मा हुनु आफैँमा ठूलो कुरा भएको उल्लेख गर्दै लगानी सम्मेलनले सकारात्मक माहोल सिर्जना गरेको बताउनु भयो । नेपाल उद्योग संघका अध्यक्ष हरिभक्त शर्माले लगानीको अनुकूल वातावरण बनेको उल्लेख गर्दै स–साना समस्याका पछि नलाग्न आग्रह गर्नुभयो ।
अनुमानित लागत ३० खर्बभन्दा बढी
कृषि, ऊर्जा, शिक्षा, उत्पादनमूलक उद्योग, पर्यटन, सहरी पूर्वाधारमा लगानी जुटाइनेछ । जसमा लगानी अपेक्षा गरिएका सरकारी ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा आयोजनाको अनुमानित लागत ३० खर्बभन्दा बढी छ । लगानी बोर्डका अनुसार सम्मेलनमा ४० भन्दा बढी देशका ६ सयभन्दा बढी सहभागी हुने टुंगो लागेको छ ।