सुनसरीमा देखियो बर्डफ्लु, एकै किसानलाई २४ लाख क्षति
सुनसरी । इटहरी उपमहानगरपालिका–१८, हरिपुरमा कुखुर र हाँसमा बर्डफ्लुमा देखा परेको छ । केही दिनअघि कुखुरा अचानक मर्न थालेपछि भेटनरी टोलीले गरेको परीक्षणमा बर्डफ्लु भएको पुष्टि भएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उपे्रतीले हरिपुरमा बर्डफ्लु भेटिएको जानकारी दिनु भयो । ‘इटहरी नगरपालिका–१८ मा बर्डफ्लु भेटिएको भन्ने जानकारी पाउनसाथ नियन्त्रणको प्रयास गरिएको छ,’ उहाँले भन्नुभयो, ‘अन्य ठाउँमा भेटिएको जानकारी आएको छैन, पशु कार्यालयले समेत जानकारी दिएको छैन ।’
बर्डफ्लु लागेपछि राजु बस्नेतको बी एण्ड जी अर्गानिक कृषि फर्ममा रहेका करिब तीन हजार कुखुरा नष्ट गरिएको छ । त्यसबाट २४ लाखको क्षति भएको अनुमान गरिएको छ ।
बर्डफ्लु भेटिएसँगै फर्ममा रहेका सबै कुखुरा र हाँस नष्ट गरिएको बस्नेतले जानकारी दिनुभयो । ‘भेटनरी अस्पतल सुनसरीका डा. मनोजकुमार महतोको टोलीले बुधबार २ हजर १ सय कुखुरा, ९ सय हाँस, आठ कार्टुन अण्डा र ५०० किलोग्राम दाना नष्ट गरिएको छ,’ उहाँले भन्नुभयो, ‘नेपाल बैंकबाट लिएको ऋण सबै घाटा लाग्यो, कसरी तिर्ने ?’
फर्मसँगै आसपासका तीन किलोमिटर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । हरिपुर आसपासका क्षेत्रमा फर्मको जाँच समेत गरिएको डा.महतोले बताउनु भयो ।