किन गरियो ग्रेटर नेपालका अभियन्ताको घरमा खानतलासी ?

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष एवम् ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालको घरमा प्रहरीले खानतलास गरेको छ । उहाँले भारतीय विदेश सचिव विजय गोखले नेपाल आउँदा सांकेतिक विरोध गर्ने बुधबार प्रेस विज्ञप्ती निकालेसँगै प्रहरीले खानतलास गरेको हो ।

बिहीबार काठमाडौं, चाबहिलस्थित नेपालको घरमा बिहान करिब ८ बजेतिर ७ जनाको समूहमा आएका प्रहरीले घर खानतलासी गरेको अभियन्ता नेपालले जानकारी गराउनु भयो ।

अभियन्ता नेपाल भर्खरै मात्र स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मानवअधिकार परिषदको बैठकमा ग्रेटर नेपालको धारणा प्रस्तुत गरेर फर्कनु भएको थियो ।

नेपालका छोरा सुरोत्तम नेपालका अनुसार बुबा घरमा नभएको बेला बिहानै सात जनाको प्रहरी टोली आएको र खानतलासी गरेको जानकारी गराउनु भयो ।

अध्यक्ष नेपालले भने खानतलासी र पक्राउ पूर्जी बिना घरभित्रै धरपकडको प्रयास गरिएको भन्दै फेसबुकमार्फत विरोध जनाउनु भएको छ । ‘यस प्रकारको प्रहरी क्रियाकलापले नागरिकको वाक तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएसँगै मेरो मानवअधिकारको पनि हनन् भएको छ,’ नेपालले भन्नुभएको छ, ‘सरकारले यस्तो आतंक बन्द गरोस् भन्ने चाहन्छु ।’


सुरोत्तमका अनुसार केही प्रहरीले खानतलासी गरिरहेका बखत थप प्रहरी पनि घरभित्र छिर्न खोजेपछि खानतलासी पुर्जी दिन माग गरेका थिए । खानतलासी र पक्राउ पुर्जी विना प्रवेश गर्न नदिने भन्दै प्रतिवाद गरेपछि प्रहरी फर्किएको सुरोत्तमले बताउनु भयो ।

अभियन्ता नेपालले धडपकड हुने अनुमान पहिले नै लगाइसकेको बताउनु भएको छ । बिम्स्टेक सम्मेलनताका पनि नेपाललाई घर नजिकैबाट पक्राउ गरी हिरासतमा राखी मुद्वा चलाइएको थियो ।

उहाँले १५ वर्ष देखि निरन्तर नेपालले सुगौली सन्धी मार्फत भारतमा गाभिएको ६० हजार बर्गकिलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालन गर्दै आउनु भएको छ ।

सम्बन्धित खवर

Back to top button