बैंक तथा वित्तीय संस्था घट्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको संख्या घट्ने भएको छ । डेढ दर्जन संस्था मर्ज तथा एक्विजिसन प्रक्रियामा गएकाले संख्या घट्ने भएको हो ।

स्टक एक्स्चेन्जका अनुसार मर्ज तथा एक्विजिसनको सहमति भइसकेका १८ कम्पनीमध्ये ११ वटाको सेयर कारोबार रोकिएको छ । बाँकी ७ वटाको भने खुला छ ।
‘मर्जमा दुवै कम्पनीको कारोबार रोकिन्छ भने एक्विजिसनमा प्राप्ती गर्ने कम्पनीको कारोबार खुला हुन्छ,’ एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले भन्नुभयो । बिक्री हुने कम्पनीको कारोबार रोकिन्छ, किन्नेको रोकिँदैन ।

बिक्री भएको हाम्रो विकास बैंकको कारोबार रोकिएको छ । जुन राष्ट्रियस्तरको ज्योति विकास बैंकमा गाभिएको छ । यिनीहरूको आगामी शुक्रबारदेखि संयुक्त कारोबार सुरु हुनेछ ।

त्यस्तै मोरङको सप्तकोसी विकास बैंकमा धनकुटाको काबेली विकास बैंक गाभिएको छ । यी दुई बैंक गाभिएर प्रदेशस्तरको बन्ने भएको छ ।

राष्ट्र बैंकले संघीय संरचनाअनुसार कार्यक्षेत्र विस्तार गर्नुपर्ने नीति ल्याएपछि बैंक तथा वित्तीय संस्थाहरूलाई फेरि मर्जको दबाव परेका हुन् ।
प्रदेशस्तरको नहुने संस्थाले एकभन्दा बढी प्रदेशमा शाखा कार्यालय खोली सञ्चालनमा गरिरहेको अवस्थामा २०७७ असारभित्र उक्त शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गर्नुपर्ने छ ।

अन्यथा प्रदेशस्तरको विकास बैंकका लागि चुक्ता पुँजी १ अर्ब २० करोड तथा राष्ट्रियस्तरको हुन साढे २ अर्ब तोकिएको छ । यो पुँजी मर्ज वा बोनस सेयर जारी गरेर मात्रै पुर्याउनुपर्नेछ । अर्थात हकप्रद जारी गरेर पुँजी पुर्याउन पाइने छैन ।

राष्ट्र बैंकको तथ्यांकअनुसार मर्जर तथा पुँजी वृद्धिको नीतिपछि माघ मसान्तसम्म १६४ संस्था मर्ज तथा एक्विजिसनमा सहभागी भई १२२ संस्थाहरूको इजाजत खारेज भएको छ ।

त्यस्तै फाइनान्स कम्पनीहरूले पनि प्रदेशस्तरको बन्न ५० करोड र राष्ट्रियस्तरको बन्न ८० करोड चुक्ता पुँजी पुर्याउनुपर्छ ।

५० करोड चुक्ता पुँजी पुर्याएका विकास बैंक र ४० करोड चुक्ता पुँजी पुर्याएका फाइनान्स कम्पनीले एउटै प्रदेशमा ५ जिल्लाभन्दा बढी नहुनेगरी कार्यक्षेत्र कायम राख्न भने पाउने छन् ।

हाल एक, तीन र १० जिल्ला तथा राष्ट्रियस्तरका गरी चार किसिमबाट यी संस्था वर्गीकरण गरिएको छ । जसकारण कतिपय संस्थाका केही शाखा एउटा प्रदेशमा र केही अर्को प्रदेशमा सञ्चालनमा छन् । यी संस्थालाई संघीय संरचनाअनुसार कार्यक्षेत्र बनाउनुपर्ने व्यवस्थाले झन् बढी असर परेको हो ।

‘अब जिल्लागत रुपमा रहेका विकास बैंकहरू प्रदेशस्तरको बन्नुपर्ने वा जिल्लामै खुम्चिनुपर्ने गरी राष्ट्र बैंकले व्यवस्था गरेकाले मर्जका लागि बल पुगेको हो’ डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द ढकालले भने ।

कार्यक्षेत्र विस्तार क्रममा मर्जलाई प्राथमिकतामा राख्न राष्ट्र बैंकले भनेको छ । हाल ३३ वटा विकास बैंक, २८ वटा फाइनान्स सञ्चालनमा छन् ।

मिसन डेभलपमेन्ट बैंक र तिनाउ विकास बैंक एकआपसमा मर्ज हुने प्रक्रियामा छन् । प्रधान कार्यालय बुटवलमा रहेका दुवै समान हैसियतमा गाभिने भएका हुन् । दुवैको सेयर कारोबार रोकिएको छ ।

प्राइम कमर्सियल बैंकले राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । जसकारण ओम डेभलपमेन्टको कारोबार रोकिएको छ ।

धरानमा केन्द्रीय कार्यालय रहेको हाथवे फाइनान्सलाई ग्लोबल आइएमई बैंकले प्राप्ती गर्दैछ । हाथवेको सेयर कारोबार रोकिएको छ ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको दस जिल्ले साइन रेसुङ्गा विकास बैंकमा तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक मिसिने भएको छ । यी दुवै संस्था गाभिएर राष्ट्रियस्तरको विकास बैंक बन्ने भएको छ। पूर्णिमाको कारोबार रोकिएको छ ।

एक जिल्ले कार्यक्षेत्र भएको सहारा विकास बैंकलाई दाङमा कार्यालय रहेको राष्ट्रियस्तरको देव विकास बैंकले प्राप्ती गर्ने भएको छ । जसले गर्दा सहाराको सेयर कारोबार रोकिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ती गर्ने भएको छ । जेविल्सको कारोबार रोकिएको छ ।

भरतपुरको ओमी माइक्रोफाइनान्स र नागरिक लघुवित्त एकआपसमा मर्ज हुने सहमति भएका छन् । नागरिक लघुवित्त एक्स्चेन्जमा सूचीकृत भएको छैन भने ओमीको कारोबार रोकिएको छ । यीबाहेक नेप्सेमा सूचीकृत नभएका रामरोशन लघुवित्त र एनआरएन लघुवित्त, साधना लघुवित्त र आर्थिक सम्बृद्धि लघुवित्त एकआपसमा गाभिँदैछन् ।

सम्बन्धित खवर

Back to top button