काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका उडेलगत्तै उनीविरुद्ध मेरिल्याण्डको एफबीआईमा उजुरी परेको खबरले नेपालमा ठूलै तरंग ल्यायो । नेकपा र त्यसमा पनि पूर्वमाओवादीका नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमा उजुरीकर्ता भनिएका तिलक श्रेष्ठविरुद्ध खनिए ।
प्रचण्डका अनुसार जहाजमा हुँदा नै छोरी गंगा दाहालले यसबारे थाहा पाएकी रहिछन् । तर, उनले प्रचण्डलाई जानकारी दिइनन् ।
अमेरिकाबाट विहीबार नेपाल फर्किएका प्रचण्डले विमानस्थलको भीआइपी कक्षमा पत्रकारहरुसँग भन्नुभयो,‘राजदूत र अरु साथीहरु (विमानस्थलमा) आउनुभएको थियो ।
मलाई त झण्डै भूमिगतरुपले बाहिर निकाल्ने कुरा गरे । के भएछ, किन त्यसो गरे भनेर म आश्चर्यमा परेँ । उहाँहरुलाई लागेको रहेछ, केही घटना पो हुन्छ कि ?’
प्रचण्डका अनुसार अमेरिकास्थित नेपाली राजदूतसहितको टोलीले केही भएको भए छलेर बाहिर निकाल्ने व्यवस्थासमेत मिलाएका रहेछन् । उहाँले भन्नसभयो, ‘तर, केही भएन । खाली कन्फ्युजन जस्तो मात्र थियो ।’
प्रचण्डको टोली भ्रमण अवधिभर नेपाली दूताबासमै बसेको थियो । यसक्रममा प्रचण्डले केही भेटघाटहरु पनि गर्नु भएको थियो ।
नेपालीलाई हेप्दा रहेछन् !
श्रीमती सीता दाहालको उपचारपछि स्वदेश फर्किएका प्रचण्डले अमेरिकामा रहेका केही नेपालीहरुको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले अमेरिकामा बसेर आफ्नो विरोध गर्नेहरुलाई विमानस्थलबाटै जवाफ दिनुभयो । उहाँले नेपालमै आएर जनताको मन जितेर मन्त्री, प्रधानमन्त्री हुन आफ्ना आलोचकहरुलाई चुनौतीसमेत दिनुभयो ।
‘शायद अमेरिकामा जाने हाम्रा लिडरहरु र सबैले अनुभव गरेको हुनुपर्छ,’ प्रचण्डले अमेरिकामा रहेका कतिपय नेपालीबारे संकेत गर्दै भन्नुभयो, ‘केही मान्छे छन्, जो नेपालको विरोध गर्न पाउँदा, राष्ट्रपति प्रधानमन्त्री, जो कोही नेता गए पनि नकारात्मक दृष्टिकोणले हेर्ने र बदनाम गर्न पाइयो भने खुसी हुने प्रवृत्ति छ ।’
तर, आफ्नाविरुद्ध अमेरिकामा कुनै गतिविधि नभएको प्रचण्डले बताउनु भयो । भ्रमणका क्रममा लामो समयदेखि अमेरिकामा बसेकाहरुसँग भेट गर्नुका साथै पार्टीको बैठकसमेत गरेको प्रचण्डले जानकारी दिनुभयो ।
प्रचण्डका अनुसार जहाँ उजुरी परेको थियो, त्यहीँ गएर भ्रम चिर्नुपर्छ भनेर उहाँले प्रदेशसभा सांसद हृयारी भण्डारीको सहयोगमा मेरिल्याण्डको संसद भवन, सिनेटको भ्रमण गर्नुभयो ।
आफ्नो भ्रमण अगाडि नै अमेरिकी सरकारले कुनै अनुसन्धान नगर्नू भनेर सर्कुलर गरेकाले भ्रमणका क्रममा कुनै समस्या नभएको उहाँले विहीबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुलाई सुनाउनु भयो ।
लामो समयदेखि अमेरिकामा बस्ने ‘एकथरी नेपाली’ ले आफूलाई अमेरिकाकै रैथानेजस्तो ठान्ने गरेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘मानौं, अमेरिकामा बसेका हुनाले उनीहरु नै सुपरपावर हुन् जस्तो गरेर यहाँबाट गएका नेपालीलाई हेप्ने गरेका रहेछन् ।’
पछिल्लो समय नेपालबाट गएका नेपालीहरु अमेरिकामा बढ्दै गएको बताउँदै प्रचण्डले भन्नुभयो, ‘आन्दोलनबाट आएका नेपाली त्यहाँ पनि गएकाले विस्तारै जनताको जीत त्यहाँ पनि हुँदैछ ।’
नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलिसीले शान्ति सम्झौता र नेपाली नेतृत्वको प्रशंसा गरेको सुनाउँदै प्रचण्डले भन्नुभयो, ‘जसले पक्राउ गर्नुपर्छ भनेर अपराधीको रुपमा व्यवहार गर्न खोजेका थिए, उनीहरुका लागि राम्रै प्रतिवाद हुनपुग्यो ।’
भेनेजुएला होइन, तिब्बत र उत्तर कोरियाको मुद्दा उठ्यो
भ्रमणका क्रममा प्रचण्डले अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसिया हेर्ने सहायक मन्त्री एलिस जी वेल्सलाई विदेश मन्त्रालयमै गएर भेट्नु भएको थियो ।
भेटमा एलिसले उत्तर कोरिया र तिब्बती शरणार्थीबारे चासो व्यक्त गरेको प्रचण्डले जानकारी दिनुभयो । ‘तिब्बतको मुद्दामा हामी चाहन्छौं कि नेपालले मानवअधिकारको विषयमा जसरी विगतदेखि गर्दै आएको हो, त्यसरी नै गरोस् भन्ने थियो’ प्रचण्डले अमेरिकी अधिकारी सँगको भेटबारे जानकारी दिँदै भन्नुभयो, ‘उत्तर कोरियाको विषय पनि उठाउनुभयो । हाम्रा केही चासो छन्, त्यसलाई नेपालले बुझिदिए हुन्थ्यो भन्ने थियो ।’
नेकपा अध्यक्ष प्रचण्डले थप्नुभयो, ‘हिजो विवादमा भएको विषय उठ्लान् कि भन्ने तयारीमा म थिएँ तर, उठेन । मुख्यतः भेनेजुएला उठ्छ कि भन्ने लागेको थियो । उठेन र मैले भनिरहनु आवश्यक भएन ।’
आफ्नो भ्रमणका क्रममा अमेरिका सरकारले सहयोग नै गरेको नेकपा अध्यक्ष प्रचण्डले सुनाउनु भयो ।