हेमन्तप्रकाश ओलीलाई बन्दी बनाएकोमा सर्वोच्चले माग्यो लिखित जवाफ
काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई बन्दी बनाउनुको कारण खुलाउन सरकारसँग लिखित जवाफ मागेको छ ।
नेता ओलीको छोरी विपना ओलीले विनाकारण पक्राउ गरेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दर्ता गरेपछि सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले नेता ओलीलाई बन्दी बनाउनुको लिखित जवाफसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।
नेता ओलीको छोरी विपनाले बिनाकारण प्रहरीले पक्राउ गरी धरपकड गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दर्ता गर्नुभएको थियो ।
नेता ओलीलाई यही चैत ९ गते शनिबार काभ्रेको खानीखोला–७, मिल्चेबाट प्रहरीले पक्राउ गरेको थियो । नख्खुस्थित एनसेल टावरमा बम विस्फोट गर्दा एक जनाको ज्यानसमेत गएको घटनाको जिम्मा लिएपछि प्रहरीले ओलीलाई पक्राउ गरेको हो ।