ढुक्कसँग लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपाल ‘भर्जिन कन्ट्री’  भएकोले ढुक्कसँग लगानी गर्न आह्वान गर्नु भएको छ  । लगानी सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि उच्च प्रतिफल रहेको भन्दै लगानीकर्ताहरुलाई नेपालमा ढुक्कसँग लगानी गर्न आह्वान गर्नु भएको हो ।

उहाँले वर्तमान सरकार लगानीकर्ताहरुको लगानी सुरक्षित गर्न र नाफा सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियानका लागि विदेशी लगानी आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ रहेको छ । उहाँले विदेशी लगानीको लागि उचित वातवरण आवश्यक रहेको बताउनु भयो । साथै नेपाल विदेशी लगानीकर्ताहरुका लागि दोस्रो घर र व्यवसायको हब बन्ने दाबी समेत गर्नुभयो ।

यतिबेला ‘स्थिर सरकार बनेको छ, सरकारी नीति लगानी अनुकूल बनाइएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न विदेशी लगानी जरुरी छ, म लगानीका लागि आह्वान गर्दछु ।’ उहाँले लगानीका विभिन्न क्षेत्रहरु यसअघि नै तय गरिसकेको बताउँदै नेपालमा स्थायी सरकार भएकोले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा संक्रमणकाल अन्त्य भएको र देश समृद्धिको बाटोतर्फ लम्किरहेको भन्दै हातेमालो गरेर अघि बढ्न सबैलाई आह्वान गर्नुभयो ।
‘एक वर्षअघि रारा तालको किनारबाट नेपालको विकासको खाका प्रस्तुत गर्दा मैले हाम्रा मित्र तथा हितैसीहरुसँगको सहकार्य आवश्यक रहेको कुरामा जोड दिएको थिएँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आज यो सम्मेलनमा हाम्रो निमन्त्रणा स्वीकार गरेर महत्वपूर्ण कार्यक्रममा आउनुभएका मित्रहरुलाई देख्दा निकै खुसी लागेको छ ।’

उहाँले अब नेपालमा हिंसाको लागि कुनै स्थान नभएको बताउँदै कानुनी व्यवस्थामा खलल पुर्याउनेहरुलाई कानुन बमोजिम कारवाही गरिने बताउनु भयो । प्रधानमन्त्रीले आर्थिक बृद्धिको लागि राजनीतिक स्थायित्व मुख्य आवश्यकता रहेको बताउँदै अहिले देशमा राजनीतिक स्थिरताको साथै नीतिगत रुपमा एकरुपमा रहेको पनि जिकिर गर्नुभयो ।

सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै एक हजार लगानीकर्ताको उपस्थिति रहेको छ । विभिन्न ४० देशहरुबाट मात्रै ६ सय भन्दा बढी लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ र सरकारबाट ५० गरी ७७ वटा परियोजना प्रस्ताव गरिँदैछ ।

सम्बन्धित खवर

Back to top button