डाक्टरले नै गरे श्रीमतीको हत्या

वीरगन्ज । यहाँका एकजना डाक्टरले नै आफ्नी श्रीमतीको हत्या गरेका छन् । वीरगन्जको नारायणी अस्पतालमा कार्यरत डाक्टर सचितानन्द यादवले आफ्नी श्रीमतीको हत्या गरेका हुन् ।
डाक्टर यादवको कुटाइबाट उनकी श्रीमती सुनिता देवी यादवको मृत्यु भएको हो । सुनिता डाक्टर यादवको जेठी श्रीमती हुन् ।



डाक्टर सचितानन्दको कुटाइबाट गम्भीर घाइते भएकी उनकी जेठी श्रीमती सुनितालाई उनका माइती पक्षले उद्वार गरी चैत ११ गते वीरगन्जको गण्डक हस्पिटलमा भर्ना गरेका थिए । गण्डक हस्पिटलको आइसियु कक्षमा भर्ना गरिएकी उनको स्वास्थ्यमा सुधार नआएपछि माइती पक्षले उनलाई थप उपचारका लागि ११ गते नै राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पु¥याएका थिए ।
यसअघि चैत ११ गते वीरगन्जको गण्डक हस्पिटलमा पुर्याउँदा सुनिताको स्वास्थ्य एकदमै नाजुक रहेकोले मस्तिष्कमा अक्सिजन नपुगेर उनी हाईपोक्सीया रोगको सिकार समेत हुन पुगेको गण्डक हस्पिटलका डाक्टर सुरेन्द्र यादव बताउँछन् ।
कुटपिटको कारण सन्तान नपाउनु
वीरगन्ज महानगरपालिकाको हरपतगन्ज घर भएका डा. सचितानन्द यादवसँग १५ वर्ष पहिले वीरगन्जजकै बहुअरीकी सुनिता यादवको २० लाख रुपैयाँ दाईजो समेत दिइ मागी विवाह भएको थियो ।
विवाहको एक वर्ष नबित्दै सुनिताबाट सन्तान नभएको निहुँमा उनका श्रीमान डाक्टर सचितान्दले भारतको रक्सौल निवासी एक महिलालाई कान्छी श्रीमतीको रुपमा घरमा भित्र्याएका थिए ।
कान्छी श्रीमती ल्याएदेखि नै सचितानन्द यादवले कान्छी श्रीमतीसँग मिलेर जेठी श्रीमती सुनितालाई निरन्तर मानसिक तथा शारिरीक रुपमा यातना दिँदैआएको आएको आरोप सुनिताका भाई सन्तोष यादवको छ ।
निरन्तरको मानसिक र शारिरीक यातनाबाट पिडित सुनितालाइ लिन उनको घर जादा ससुरा पक्षकाले केही दिनदेखि खाना समेत नदिएर भोकै राखेको र कुटपिटबाट पुरै शरीरभर निलडाम बसेको देखिएपछि यातना दिएको रहस्य खुलेको भाइ सन्तोषले बताए ।
सुनितालाई कुटपिट गरी घाइते बनाएपछि सचितानन्द यादवलाई भने प्रहरीले चैत ११ गते नै नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको छ । माइती पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएलगत्तै प्रहरीले डाक्टर यादवलाई पक्राउ गरी कर्तब्य ज्यान उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइसकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।