बारको नयाँ नेतृत्वको लागि मतदान हुँदै

काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि शनिबार निर्वाचन भइरहेको छ ।  बारको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्व छनौटको लागि मतदान भैरहेको हो ।

देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्दैछन् । आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान हुँदैछ ।

नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ उम्मेदवार बनेका छन् ।

बारको २५ सदस्यीय कार्यसमितिका लागि ६३ को उम्मेदवारी परेको छ । तीन वर्षेका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष निर्वाचित हुनेछन् ।

देशभरिबाट मतपेटिका सङ्कलन गरेपछि काठमाडौंमा मतगणना हुने बारका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।

काठमाडौं उपत्यकाको सर्वोच्च अदालत बार कार्यालय, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा निर्वाचन हुँदैछ ।


नेपाल बार कानून व्यवसायीको छाता सङ्गठन हो ।

सम्बन्धित खवर

Back to top button